कुनै गाउँका दुई लोग्ने स्वास्नी बिच झगडा हुँदै थियो । गाउँलेहरू कोही को सही र को गलत भन्दै फैसला गर्ने धुनमा थिए त कोही ती लोग्ने स्वास्नीको झगडा हेरेर रमाउने लहरमा देखिन्थे । स्वास्नी मान्छेको हातमा एउटा पोको थियो, उ भन्दै थिई म भाग्न लागेको हैन ।' लोग्ने मान्छे भन्दै थियो 'यो भाग्दै छे यसलाई रोक्नु छ !' यत्तिकैमा झगडा हेर्न छिरेको भिडबाट कसैले आवाज दियो "भाग्न लागेको हो होइन, पोको खोसेर खोलेर हेरे भयो नि" कसैले अगाडी आएर सहमति जनाउँदै ती महिलाको पोको खोल्न थाल्यो । त्यति नै बेला एक्कासि ठुलो आवाज सहितको झड्का फैलियो । कोठाका सामग्रीहरू हल्लिन थाले । म निन्द्रामै बाहिर दौडिए । भूकम्प आएको रहेछ भन्ने पूर्ण यकिन बाहिर आँगनमा पुगिसकेपछि बल्ल भयो । र त्यति नै समयमा अर्को यकिन म भूकम्प जानु भन्दा अगाडी सपना देख्दै रहेछु भन्ने भयो । एक छिन दिमाग रन्थनियो । ओहो, मेरो सपना र भूकम्पको कस्तो बिन्दुमा भेट भएको । ती महिलाको सपनामा पोको खोलेको र भूकम्प आएको सँगै ? पछिल्ला समय भूकम्पहरूसँग परिचित भइसकेको म, भूकम्प आउँदा भाग्न जानिसकेको म, यस पटक सपना र बिपनाको मिसावटले गर्दा बेहोसिमै बाहिर निस्किने अर्ध चेत जस्तो हुन पुगेछु । बझाङ केन्द्र बिन्दु भएर केही महिना अगाडी मात्रै भूकम्प जाँदा सुतेको भए पनि भूकम्प नै भनेर सचेत अवस्थामा खुरुखुरु दुई तीन पटक बाहिर निस्केको म, यो पटक भने बेहोसिमै बाहिर पुगेको रहेछु । बेहोसिमै भाग्दा पनि सिरानीको मोबाइल हातमा लिन छुटेनछ । मोबाइलमा घडी हेर्दा रातको ११:५१ थियो । भूकम्प गएको दुई तीन मिनेट भइसकेको थियो मैले त्यो मोबाइलमा घडी हेर्ने समयमा चाहिँ ।
भूकम्पको झड्का अनुसार भूकम्प नजिकै केन्द्रबिन्दु भएर गएको वा ठुलो स्केलको गएको भन्ने यकिन गर्न जो कसैले सक्थ्यो । मलाई डर यस अर्थमा सम्भावित जनधनको क्षति सम्झेर अत्यास लाग्न थाल्यो । बुवा आमा पनि यतिन्जेल बाहिर निस्की सक्नुभएको थियो । आफ्नाहरूको नम्बर डायल गरे, उता बाट पनि फोनहरू आउन थाले । एक छिन फोनमय बन्यो त्यो रात । सबैतिर भूकम्पले नराम्रोसँग हल्लाएको पक्कापक्की भयो । राहत मिल्ने कुरो चाहिँ सम्पर्क गरेका सबैलाई ठिक भएको खबर पाइनु थियो । ममी फोनमै व्यस्त हुन थाल्नु भयो । बुवाले घर नियाल्न थाल्नुभयो । टर्च बालेर घर वरपर हेर्दा घर चर्की सकेको थियो । मन त्यसपछि आत्तिन सुरु भयो । मैले मोबाइलमा नमस्तेको अन्धाधुन्ध रूपमा डाटा लिए । धन्न नेटवर्कले कछुवा गतिमा भए पनि इन्टरनेट सुविधा छोड्यो । फेसबुक हेर्दा हेर्दै भूकम्प आएको भन्ने पोस्टहरूले भरिए । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प आएको तथ्य भूकम्प मापन केन्द्रबाट आयो । अलि बेरमा फेसबुकमा दुःखदायी खबरहरू आउन थाले । 'आठबिसकोटमा भर्खरै आएको भूकम्पमा परी चार जनाको ज्यान गएको छ ।' यो पोस्ट पहिलो पटक फेसबुकमा देख्दा मेरो दिमाग शून्य भयो । लाग्यो, अब यो भन्दा धेरै नराम्रा खबरहरू सुन्न बाध्य हुनुपर्ने पक्का पक्की भइसक्यो । हेर्दा हेर्दै फेसबुकमा मृतक र घाइतेहरूका तस्बिर छ्यापछ्याप्ती टाँसिए । भूकम्प पछि परकम्पन आउँछ भन्ने डर उस्तै रह्यो । बाहिर आँगनमा मोबाइल चलाउदै चिसो सहन तयार भइयो ।
खानेपानी सिचाई तथा ऊर्जा विकास कार्यालय दैलेखबाट खानेपानी सिचाई तथा ऊर्जा विकास कार्यालय जाजरकोटमा म सरुवा भएर आएको धेरै समय भइसकेको थिएन । कार्यालय सकाएर एक घण्टा मोटरसाइकलबाट घर खाेलागाउँ रुकुम पश्चिम पुग्न सकिने हुनाले म त्यस शुक्रवार साँझ कार्यालय समय पश्चात् घर निस्किएको थिए । भर्खरै सरुवा भएर आएको हुनाले बसाई व्यवस्थापन सहज जो भइसकेको थिएन र कार्यालयका कामकारबाहीहरूसँग परिचित हुन बाँकी नै थियो । सँगै कार्यालय प्रमुख समेत परिवर्तन हुन बाँकी थियो, यसैले झन् खास कार्यालयमा घर नजिकै भएर पनि शनिवार अल्झिरहन जरुरी थिएन मलाई । त्यो बेलुका निन्द्रा र थकानले बिस्तरामा पल्टिन बित्तिकै मिठो निन्द्रा आएको थियो म सधैँझैँ मोबाइल फ्लाइट मोडमा राखेर सुस्ताएको थिए। बिस्तरा देखी स्विच अलि टाढा थियो, बत्ती निभाउने भने जाँगर नचलेपछि बत्ती अन नै छोडेर सुतेको थिए । तर मेरो निन्द्राले केही बेरमै भूकम्पको धक्कासँगै बिदाइ लियो । भूकम्प पश्चात् त्यो रात कार्यालयका सरहरूलाई फोन सम्पर्क गरे उहाँहरूले उद्धारमा छौँ भन्दै हुनुहुन्थ्यो । बाहिर छिमेक तिर कल्यांग मल्यांग र हो-हल्ला यतिन्जेल चर्कै भइसकेको थियो । गहुँ छर्नलाई खेत तिरै बसेका केही लेक तिरका मान्छेहरू घर भत्कियो रे भन्दै मास्तिर दौडिनु हुँदै थियो ।
केही समयमा मोबाइलको नेटवर्क गयो । विद्युतबाट नभएर सौर्य ऊर्जा बाट सञ्चालन गरिएको त्यस क्षेत्रको नेटवर्क यो भन्दा अगाडी पनि बेला बेला राती नआउने, बन्द गर्ने काम भइरहेको थियो । यस्तो बेलामा नेटवर्क जानुले मनमा अत्यास र जिम्मेवार निकायहरू प्रति रिस उठ्यो । अब नेटवर्क नभएपछि चिसोको ज्यादा महसुस हुन थाल्यो । जे होला भन्दै भित्र छिरे । बुवा आमा म भन्दा अगाडी नै भित्र पसिसक्नु भएको थियो । म उहाँहरूलाई बाहिरबाट अपडेट दिँदै थिए । अब भने नेटवर्क नभएपछि मेरो भागमा निराशा बाहेकको कुनै केही खास अपडेट रहेन ।निन्द्रा पर्ने कुनै सम्भावना छँदै थिए । कोल्टे फेर्दै छट्पट्टी रहे । मस्तिष्कमा भूकम्पले निम्त्याएको भयावह घुमिरह्यो । एक छिन पछि धन्य फोनको नेटवर्क आएछ । नेटवर्क आएको थाह पाउनासाथ फेसबुकमा स्ट्याटस लेखे "कृपया यस्तो विपत् काे घडीमा विशेष प्रयोजन बाहेक जाना-जान विद्युत् तथा सञ्चार सेवा बन्द गर्ने काम नगरौँ । ( बरु आजको नोक्सान अर्को दिनहरूमा उठाउनुहोला । ) सरोकारवालाहरूले पनि यसमा सम्बन्धित निकायहरूलाई निर्देश गरिदिनुहोस् । विद्युत नपुगेर सौर्य ऊर्जा मार्फत फोन नेटवर्क चल्ने स्थानहरु, ( जहाँ सामान्यतया राती नेटवर्क बन्द गर्ने पनि गरिन्छ ) त्यहाँ पनि नेटवर्क खुल्ला रहन र गराउन निर्देश गरिदिनुहोस् ।" खुसीको कुरा मैले चाहे जस्तै त्यो रात नेटवर्क गएन । आँखा झिमिक्क हुँदा पनि बल गरेरै अनिदोमा रात कटाइयो । बिहान भाले बासिरहँदा अनिद्राले बेस्सरी टाउको दुख्न थालेको थियो । यो बिचमा दुई तिन पटक पर कम्पन आयो । पर कम्पन आउँदा त बाहिर निस्किए निस्किए, तर आफ्नै मनको भ्रमले पनि रातभर भूकम्प आएको महसुस गराइरह्यो, बिस्तराबाट उठाइरह्यो । सामाजिक सञ्जालमा यतिन्जेल मृतकको सङ्ख्याले मात्रै पचास बढी नाघिसकेको थियो । भयावह दृश्यहरूले सामाजिक सञ्जाल भरिसकेको थियो ।
भोलिपल्ट शनिवारको बेचैनी
बाहिर पृथ्वी उज्यालो भयो तर भयावहको अन्धकारले गाँज्दै गयो । आँखा अनिन्द्राले तिरमिर भए, भूकम्पले गरेको जनधनको क्षतिले गिला भइरहे । उज्यालोमा आफ्नो घर झन् कुरूप बनेको यकिन भयो । बुवाले माथि गाउँतिर पुगेर फर्केपछि भन्नुभयो 'हाम्रो त यो सामान्य हो, गाउँमा उसको उसको केही रहेनछ, घर घर रहेनछ, बस्न लायक छैन, रोइराछन् ...... यस्तै यस्तै" म अवाक् भए । फेरी पछि मम्मी गाउँ गएर फर्किनुभयो उस्तै खबर लिएर आउनुभयो । मलाई गाउँ जानै मन भएन । बुवा मम्मीसँगै आउने जानेहरूको कुरा सुनेर मेरो मनमा प्रत्यक्ष गएर त्यो भयावह हेर्ने आँट आएन । दिनभर छटपटी भइरह्यो । इन्टरनेटमा बेलाबेला अपडेट हेरिरहे । अपडेट भयावह हुँदै गयो । मेरो गृह जिल्ला आठबिसकोट न.पा. र सानीभेरी गाउँपालीकाले थुप्रै मानवीय क्षति भोगिसकेको थियो । भूकम्पको केन्द्रबिन्दु भएको जिल्ला जाजरकोटको त्यस्तै खबर बढिरहेको थियो । आकाशमा हेलिकप्टरहरू गडगडाउन थाले । प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगेको, रुकुम पुगेको जानकारी भयो । नलगाड नगरपालिका जाजरकोटकी उपमेयर र नापी कार्यालय जाजरकोटकी अमिन र उनको सानो भाइको मृत्युको खबरले मन चिरा चिरा पार्यो । यती उति क्षति भनेर जनधनको क्षति बढिरहे सँगै मन्त्रालयबाट विपत् उद्धार प्रतिकार्य तथा पुनर्निर्माण कार्यमा जुनसुकै समय खटिनु पर्ने भएकाले आ-आफ्नो कार्यालयमा कर्मचारीहरू २४ घण्टाभित्र उपस्थित हुनुहुन निर्देशन पनि प्राप्त भएको जानकारी आयो । म तुरुन्तै जाजरकोट निस्किन्छु सोचे । तर फेरी आफ्नो तिरै पनि त क्षति छ, यता पनि उद्धार प्रतिकार्य तथा पुनर्निर्माणका कार्यहरू गर्नु छ, आजको दिन यतै हेर्छु र भोलि बिहानै जाजरकोट पुग्छु भन्ने अठोट गरे । कार्यालयको सरलाई यसैअनुरूप जानकारी गरे । रातिको अनिन्द्रा मेटाउन दिनभर खोजे पनि सकिएन । हताश मनस्थिति र रातीको अनिन्द्राले उल्टै टाउको रिँगाउँदा पनि फेरी भूकम्प आएर हल्लाएको आभास भइरहँदो रहेछ, त्यो आभास पटक पटक भइरह्यो । पर कम्पनको भूतले दिनभर झस्काइरह्यो । यसरी शरीरले पनि मन मस्तिष्कले पनि आराम महसुस नगरेपछि अन्तमा गाउँ उक्लिए । गाउँका घरहरू हेरे, तस्बिर लिने आँट पनि भएन । घरका आकारहरू कुरूप भएका रहेछन्, भित्ताहरू चोइटिएका चर्किएका रहेछन्, कोठाका सामाग्रीहरू ढुङ्गा माटोमा मिसिएका रहेछन् । प्राविधिक सम्झेर होला गाउँलेजनहरु कसैले मसँग पिर खन्याए, कसैले आँसु नै । मैले जिन्दगीलाई घर भन्दा तल राख्दै, अन्यत्र भएका भयावह क्षतिहरूलाई सुनाउँदै सान्त्वना दिने कोसिस गरे । प्राविधिक रूपमा यसरी समस्या यस्तो भएछ र अब यसरी घर बनाउने हो भन्ने राय छोड्ने दुस्साहस गरे । उसो त मेरो मन मस्तिष्क यसै पनि शून्यतामा थियो । चर्किएका घरहरूमा पर कम्पन आए पछि हुन सक्ने त्यो ठुलो क्षति सम्झिँदा झन् रिँगटा चल्न थाल्थ्यो । सबै गाउँमा पुग्ने समयसँगै मसँग हिम्मत पनि भएन । घर फर्किँदा अँध्यारो भइसकेको थियो । गाउँलेहरु पाल टाँगेर बाहिर खाना पकाउँदै थिए । मैले हताश नहुन भन्दै फेसबुकमा स्ट्याटस फेरी पनि छोडे ।
आइतबार पर्सिपल्ट जाजरकोटबाट...
रातभर उस्तै त्रासमा छटपटिएर बिहान घरमै खाना खाएर जाजरकोटका लागी निक्लिए । बाटोमा पनि उस्तै चर्किएका घरहरू अतालिएका घरका सदस्यहरू देखिरहे । मटेला पुल तरेपछि जाजरकोट खलङ्गा लगिदिन एक जना वृद्धले मोटरसाइकल रोक्नुभयो । मैले मोटरसाइकलमा राखे । कहाँ जाँदै हुनुहुन्छ भन्दा उहाँ वृद्ध भत्ता निकाल्न जाने भन्दै हुनुहुन्थ्यो । यसपछि म भूकम्पको कुराहरूमा पसे । उहाँको घर पनि भत्किएको रे । भागेर बाँच्यौँ भन्दै हुनुहुन्थ्यो । गाउँमा मानवीय क्षति चाहिँ नभएको तर भाग्ने क्रममा घरका छाना छाएकोमा अँचेटेको ढुङ्गा खस्दा लागेर एक जना सिकिस्त घाइते र अर्को जना त्यस्तै भाग दौडमा घाइते भएको जानकारी दिनुभयो । मैले हिजो गाउँमा जाँदा घरका छाना छाएको अँचेटेको ढुङ्गाहरू आँगनमा खसेका दृश्यहरू झलझलती सम्झिए, साँच्ची ती ठुलो ठुलो ढुङ्गाहरूले लागेको भए ती घरका सदस्यहरूको के हालत हुन्थ्यो होला ? सदरमुकाम जाजरकोट खलङ्गा पुग्दै गर्दा एक ठाउँमा सडक बेस्सरी फाटेको दृश्य पनि देखिएको थियो ।
म आवास कोठा नगएर सोझै हाम्रो खानेपानी सिचाई तथा ऊर्जा विकास कार्यालय जाजरकोटमा छिरे । हाम्रो कार्यालय बसपार्क क्षेत्रतिर खासै ठुलो क्षति भूकम्पबाट भएको रहेनछ । कार्यालय पुग्दा केही समय भूकम्पकै प्रसङ्गमा कर्मचारी साथीहरूसँग कुराकानी भयो । कसैले भूतप्रेतले तर्साएको सोचे भन्नुभयो, कसैले गाडी मोटरले आवाज दिएको... यस्तै यस्तै । हाम्रै सहकर्मी सरहरूको घर पनि भत्किएको रहेछन् । कार्यालयको कार्यालय प्रमुख हाकिमसाब बस्ने आवास गृह पनि भत्किएछ । संयोगले उहाँ जिल्ला बाहिर हुनुहुन्थ्यो । सहयोगी साथीहरूलाई आपत् परेछ । यहाँ यो भएको छ, यहाँ यो, उद्धारमा यहाँ गयौ उहाँ गयौँ, हिजो दिनभर डर लाग्यो यस्तै यस्तै सहकर्मी साथीहरूका कुराहरू थिए । यतिन्जेल कार्यालयमा हाकिमसाब पनि पुगिसक्नुभएछ । मङ्गल शाही हाकिमसाब भर्खरै जिल्लामा सरुवा भएर आउनुभएको तर पनि जोस देखाउनै जरुरत थियो यस विषम परिस्थितिमा । कर्मचारी साथीहरूलाई बोलाएर परिचयसँगै अहिलेको यस विषम परिस्थितिमा गर्न सकिने जिम्मेवारीका कुरा भए । यतिन्जेल एउटा आवश्यकताको काम आयो । पोखरा मुहानबाट जाजरकोट खलंगा आउने खानेपानी भूकम्प पश्चात् बन्द भएको रहेछ । यसलाई सुचारु गर्नुपर्ने भएछ । सङ्घीय खानेपानी कार्यालय सुर्खेत र हाम्रो कार्यालयबाट चार जना प्राविधिक टोली निस्कियौ ।
मोटरसाइकलमा एक घण्टा कुदेर एक घण्टा हिँडेपछि समस्याग्रस्त क्षेत्रमा पुग्यौँ । मुहान देखी करिब १ सय मिटर तलतिरको भिर क्षेत्रमा भूकम्प पश्चात् पाइप लाइनमा माथिबाट ढुङ्गाहरू खसेर पाइप लाइनमा क्षति भए पश्चात् खानेपानी अवरुद्ध हुन गएको रहेछ । हामी प्राविधिक टोलीमा जोडिनुभएका पलम्बर तथा स्थानीय बासिन्दाहरूको टोलीले त्यस दिनभर बडो मेहनत लगाएर खानेपानी मर्मतको कार्य सम्पन्न गर्यौ । हामीले काम गर्दै गर्दा नजिकै परतिर माथिबाट ठुलो ढुङ्गा झरेको थियो । खानेपानी लाइनमा अझै पनि माथिबाट ढुङ्गा खसेर खानेपानी अवरुद्ध हुने हो की भन्ने मनमा डर सबैको मनमा रहेकै थियो । बाटोमा गाउँका दृश्यहरू मेरै गाउँका जस्तै कुरूप थिए । फर्किँदा साँझमा भोक र थकानले ज्यान लखतरान थियो । सदरमुकाम खलङ्गा पुग्दा अँधेरो भइसकेको थियो । गैरिखालीको खाली भागमा मान्छेहरू बिस्तरा लगाएर पल्टिन थालिसकेका थिए । आफू त आजको थकित, हिजो अस्तिको निन्द्राबाट वञ्चित यो रात झमक्कै भएछु । यो साँझ नेपालले सुपर ओभरमा टी२० वर्ल्ड कप छनोटको अन्तिम उपाधिको खेल हारेको बाहेक अरू धेरै कुराहरू जानकारी नलिई सुतेको थिए ।
सोमबार मैले खास जाजरकोटको पीडा देखेको दिन
बिहानै हाकिमसाब सँग जिल्ला प्रशासन कार्यालय भएतिर निस्कियौ । सुरक्षित खानेपानी, महामारी नियन्त्रण, राहत वितरण तथा पुनर्निर्माण लगायतका कार्यहरूमा हाम्रो कार्यालयमार्फत सिडिओसाथ र विभिन्न एनजिओ आई एनजिओ का प्रतिनिधिहरूसँग सहकार्य गर्ने माहौल बनाउन यो बिहानको हिँडाई थियो । जिल्ला प्रशासन कार्यालय बसेको जाजरकोट दरबार पुग्दा दरबार कुरूप भएको देखियो । सिडिओसाथ व्यस्त हुनुहुन्थ्यो छोटो भेट वार्ता भयो । कृष्ण कँडेलको टिम आएको रहेछ, काठमाडौँ बाट आएका अरू पत्रकारहरू पनि त्यहीँ देखिनुभयो । भेट वार्ता पश्चात् हामी हाकिमसाब र म त्यहाँबाट सोझै नगरपालिकाको कार्यालय तर्फ अगाडी बढ्यौ । यस बिचमा जे देखियो त्यस दृश्यको कारुणिकता बयान गर्न शब्दहरू कम पर्ने देखे । घरहरू यसरी लडेका थिए यहाँ मानौँ यी घरहरू घर होइनन् यी हुरीले बारीमा ढालेका मकैका बोटहरू हुन् । तस्बिर खिच्दा हातहरू लगलगी काँपेको आभास भयो । यो सब दृश्यहरू देखेर हाकिमसाब र म एक अर्कासँग बोल्न पनि सकेनौँ । एक ठाउँमा पूर्व राजा रानी सँगै एक जोडीको तस्बिर त्यही भत्केको संरचनामा देखियो । मलाई यो दृश्यले यसै पनि भाव विह्वल बनायो । उसो त म राजावादी होइन ।
घरका सामग्रीहरू माटो ढुङ्गा र काठले चेपिएका थिए । घरका मान्छेका अनुहारहरूमा आँसुका बादलहरू मडारिरहेको आभास हुन्थ्यो । प्रहरीहरू वरतिर परतिर मुचुल्का उठाउँदै गरेको देखिन्थ्यो । राहत न्यायोचित रूपमा बाँडिएको छैन भन्दै कोही बरबराइरहेका थिए । हाम्रो हाकिमसाबलाई देखेपछि सुनाउन पनि भनिरहेको जो आभास हुन्थ्यो । नयाँ मान्छेको अनुहारमा सायद भूकम्प पीडितहरूले राहतको छाया देख्नुहुँदो हो लाग्यो । हाम्रो हाकिमसाबले कति ठाउँमा सम्झाउने कोसिस गर्नुभयो । उहाँहरू के सम्झिनहुन्थ्यो, उहाँहरूसँग जो पिडाको पहाड थियो । यहाँनेर यति जना बिते भनेर मान्छेहरूले सुनाइरहँदा आफ्नै सास बन्द भएको आभास भइरह्यो । नापी मालपोत लगायतका थाप्ले क्षेत्रका कार्यालयहरूको भयावह दृश्य देख्दा रोक्दा रोक्दै पनि मेरो आँखाबाट आँसु खसेको थियो । नापी कार्यालयको हाकिमसाब हाम्रो हाकिमसाबसँग भन्दै हुनुहुन्थ्यो । "भूकम्प गएको दिन शुक्रवार भयो, दसैँ पछिको छोटो कार्यालयको समय भयो, अनि अहिले लोकसेवाका परीक्षाहरू लगायतका कामहरू भएकोले कर्मचारी साथीहरू यहाँ हुनुभएन । यसैले धेरै मानवीय क्षति हुन पाएन !"
थाप्लेसम्म पुगेर हामी कार्यालय फर्कियौँ । हस्पिटल पुग्ने समय र आँट दुवै भएन । त्यो बिचका दृश्यहरूले नै क्षत विक्षिप्त बनाइदियो । उसो त कार्यालयमा पुगेर सुरक्षित खानेपानी, महामारी नियन्त्रण, राहत वितरण तथा पुनर्निर्माण लगायतका कार्यहरूमा हाम्रो कार्यालय र विभिन्न एनजिओ आई एनजिओ का प्रतिनिधिहरुसँग छलफल तथा गृहकार्य गर्नु थियो । कार्यालय आएर छलफल र आवश्यक गृहकार्य गर्दै गर्दा खाना खाने समय नै १२ बजे पछि मात्र भयो । उक्त छलफलमा रेडक्रस, युनिसेफ, हेल्वेटास, सङ्घीय खानेपानी, पहाडी क्षेत्र विकास लगायतका संस्थाहरूका प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम पछि प्रभावित क्षेत्रहरूका लागी टोली निर्माण भयो र परिचालन हुने कुरा भयो । खाना खाएर दिउसो पछि एकद्वार राहत प्रणाली भनेर तोकिएको टुँडिखेल क्षेत्रसम्म पुग्यौ । राहत सामग्रीहरुको डाटा राख्न सहयोगको लागी कार्यालयमा अनुरोध थियो । हामी त्यसैअनुरूप गएका थियौ तर खास धपेडी थिएन । त्रिपाल पुर्याउन नसकिएको, राहत यहाँभन्दा बाहिर बढी गएको र पत्रिकाहरूले राहत वितरण नगरी थुपारेको गलत खबर छापेका कुराहरू यहाँ हुनुहुने राहत वितरण पक्षबाट सुनियो । साँच्चिकै, हामीले पनि त्यहाँ पत्रिकाले लेखे जस्तो राहतको गोदाम थिएन ।
सोमबार ४ बजेर ३१ मिनेटमा फेरी एक चोटी भागाभाग पर्यो । कार्यालयका कर्मचारी साथीहरू एकैसाथ भाग्यौँ, सडकमा निस्कियौँ । अरू मान्छेहरू पनि सडकमा निस्किनुभयो । ४:३१ मा सबै कर्मचारी सँगै भाग्नु भनेको हाम्रो विपतको बेलाको जिम्मेवारी बोध थियो । नत्र ४ बजे हुन्छ नि कार्यालय बन्द । ५.८ म्याग्नेच्युडको यो पछिल्लो धक्काले फेरी सुक्न लागेको डर मन भरी भरिदियो । फेरी बाँच्ने रहर बाक्लो हुन थाल्यो । राती फेरी फुल कपडा लगाएर चनाखो भएर सुत्नु पर्ने भयो, के थाह फेरी कतिखेर बाहिर कुदाउने हो यो निस्ठुरी भूकम्पले !
थप
कहिले साँझमा घर नछोड्ने केटोले शुक्रवार घर छोडेर साथीको घरमा बास बसेछ । बिहान उ सधैँ सुत्ने कोठाको खाट समेत भत्किएको संरचनासँगै भाँचिएको थियो रे । घर पुरै भत्किएको थियो रे ।
कहिले घरमा झगडा नपर्ने उनीहरूको त्यो शुक्रवार साँझ झगडा परेछ । झगडा पछि घर छोडेर श्रीमती बच्चासँगै छिमेकीको घरमा बास बस्न गइछिन् । बिहान उनीहरू छिमेकीसँगै भूकम्पले भत्काएको घरमा मृत भेटिएछन् ।
यी दुवै यथार्थ कुराहरू सुनेपछि मेरो दिमाग रन्थनिएको छ । के साँच्चै मृत्यु लेखिएकै हुन्छ ?
( भूकम्पपछिको यात्रा सङ्घर्ष अझै जारी छ, बाँकी यात्रा सङ्घर्षका कुराहरू क्रमशः गर्दै गरौँला । ....... )