भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका सबै र आठबीसकोट नगरपालिकाका केही मृतकका परिवारले नगद राहत पाएका छन् । सरकारले तत्कालका लागि प्रतिमृतक २ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरे अनुसार रुकुम पश्चिममा शुक्रबारबाट राहत वितरण सुरु भएको हो । पहिलो दिन सानीभेरी गाउँपालिकाका १० र आठबीसकोट नगरपालिकाका ६ जना मृतकका परिवारलाई प्रतिव्यक्ति नगद २ लाखका दरले राहत प्रदान गरिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।
दुई स्थानीय तहका गरी १६ जना मृतकका ९ परिवारलाई राहत वितरण गरिएको बताइएको छ । राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त सहितको टोली खटिएको छ । एक जना मात्र मृतक रहेका परिवारलाई प्रति मृतक २ लाख र त्यो भन्दा बढी मृतक रहेका परिवारलाई १ जनाको दुई लाख र त्यसपछि प्रति मृतक १ लाखका दरले राहत वितरण भइरहेको प्रमुख जिल्ला अधिकार हरिप्रसाद पन्तले जानकारी दिनुभयो । आज १६ मृतकका ९ परिवारलाई २५ लाख राहत वितरण गरिएको उहाँको भनाई छ ।
सङ्घीय सरकारबाट आएको २ लाख सँगै सानीभेरी गाउँपालिकाले प्रति मृतक २५ हजारका दरले किरिया खर्च पनि उपलब्ध गराएको छ । गाउँ कार्यपालिकाले यस अघि नै मृतकका परिवारलाई २५ हजार किरिया खर्च दिने निर्णय गरेको थियो । राहत वितरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जनप्रतिनिधि, सुरक्षा निकाय लगायतको टोली खटिएको छ । भोली आठबीसकोटका बाँकी मृतकका परिवारलाई राहत वितरण गरिने बताइएको छ ।
भूकम्पका कारण जिल्लामा ५३ जनाको मृत्यु भएको छ । जसमा आठबीसकोट नगरपालिकामा ४२, सानीभेरी गाउँपालिकामा १० र चौरजहारी नगरपालिकामा १ जना रहेको छन् । चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरीको उपचारका क्रममा शुक्रवार बिहान सुर्खेतमा मृत्यु भएपछि जिल्लामा मृतकको सङ्ख्या ५३ पुगेको हो ।
सरकारले तत्कालको राहतका लागि रुकुम पश्चिम र जाजरकोटका लागि ५–५ करोड बजेट पठाएको छ । त्यसैबाट मृतकका परिवारलाई राहत वितरण थालिएको हो । विपत् पीडित उद्धार राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार जनही दुई लाख रुपैयाँको दरले राहत वितरण भइरहेको हो । भूकम्प गएकाे एक सातामै मृतकका परिवारले नगद राहत पाएका छन् ।