नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी रुकुम पश्चिम आगामी २०७८ को वैशाख ८ र ९ गते २७ औं जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । ‘संसदीय व्यवस्थाको विरुद्ध, वैज्ञानिक समाजवादी आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २७ औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्मेलनको तयारीमा रहेको यस संगठनले लिएका नीति, कार्यक्रम र सम्मेलन तयारीका सन्दर्भमा जिल्ला सम्मेलन आयोजक समिति संयोजक प्रेमप्रशान्त बोहरासँग गरिएको कुराकानीको सार संक्षेप । –सम्पादक
सम्मेलनको एजेण्डा के हो ?
नयाँ नीति, नेतृत्व चयनका लागि हो । नियमित सम्मेलनको समय पनि भइसकेको अवस्थामा सम्मेलन तय गरिएको हो । विधान त हरेक एक बर्षमा जिल्ला सम्मेलन गरिसक्नुपर्ने हो । विविध कारणले केही विलम्ब हुन गएकाले पनि हामी सम्मेलनको तयारीमा छौं ।
यसबाट कस्तो नीति र कस्तो नेतृत्व आउने हो त ?
सम्मेलनको मुल नाराबाट पनि यो प्रष्ट हुन्छ । वैज्ञानिक शिक्षा प्राप्तीको लागि लामो समयदेखि संघर्ष गरिरहेका छौं । यसमा हामीलाई के लाग्छ भने वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका निम्ति त्यही प्रकारको राजनीतिक व्यवस्था हुन जरुरी छ । तसर्थ बर्तमान संसदीय व्यवस्थाको अन्त्यको निम्ति मातृ पार्टीले गरिराखेको संघर्ष बल पुर्याउने, जिल्लामा रहेका तमाम खाले शैक्षिक विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्ने, जिल्ला स्थित अवैधानिक ढंगले सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुलाई कारबाही गर्ने गराउने, अध्ययनरत तथा पीडित विद्याथीलाई क्षेतीपुर्ति सहित न्याय दिलाउने, सामुदायिक विद्यालयको खस्कदो शैक्षिक स्तरलाई बढाउनका निम्ति आवश्यक पहलकदमी लिने र शैक्षिक क्षेत्रमा हुने तथा भइरहेका निजिकरण, व्यापारीकरण, भ्रष्टाचार, अनियमिततालाई नियन्त्रण गर्ने गराउने विषयमा केन्द्रीत रहेर जिल्ला सम्मेलनले नीति तय गर्छ । सम्मेलनले तय गर्ने नीति तथा कार्यक्रमलाई दृढतापूर्वक कार्यान्वयन गर्ने सबल, सक्षम नेतृत्व सम्मेलनबाट चयन हुन्छ ।
तपाइको यो संगठन हाल सम्मेलनको तयारीका साथसाथै अरु के के काममा सक्रिय भइरहेको छ ?
जिल्लाका शैक्षिक समस्यालाई हल गर्ने सन्दर्भमा अवैधानिक कलेजलाई कारबाहीको लागि पहल गर्ने तथा पीडित विद्यार्थीलाई क्षेतीपूर्ति सहितको न्याय दिलाउनका लागि लागि परेका छौं । साथै मनपरी ढंगबाट निजि तथा सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा अवैधानिक रुपमा अशुली रहेको शुल्क नियन्त्रण तथा नियमन गर्ने, जिल्लाका क्याम्पस तथा सामुदायिक विद्यालयहरुमा सार्वजनिक लेखा परीक्षण गराउनका लागि दवाव दिने, संगठन निर्माणमा नियमित तथा सम्मेलन तयारीका लागि खटन पटन भइरहेको छ ।
जिल्लामा शिक्षासँग सम्बन्धित मुख्य रुपमा के के समस्या देख्नुहुन्छ ?
देश संघीयतामा गएपछि स्थानीय तहहरुले मनपरी ढंगबाट शिक्षक, कर्मचारी नियुक्त गरिराखेको अवस्था छ । राजनीतिक आस्था र विचारका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । निजि तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी तथा अभिभावकबाट मनपरी ढंगबाट शुल्क लिने, सबै क्याम्पस तथा विद्यालयहरुमा अपादर्शिताको अवस्था छ । आर्थिक अनियमितता छ । भ्रष्टाचार भइराखेको छ । स्थानीय तहलाई माध्यामिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी तथा अधिकार दिइएको छ । तर त्यसको कार्यान्वयनमा स्थानीय तहले कुनै पनि भूमिका निर्वाह गर्न नसकेको अवस्था जिल्लामा देखिन्छ । जिल्लामा रहेका सबै क्याम्पसमा नियमित पठन पाठन हुँदैन । यो पनि ठूलो समस्या छ । क्याम्पस तथा विद्यालयमा दोहोरो नियुक्ति लिइएको छ । भौतिक संरचनाको अभाव देखिन्छ ।
सहकर्मी संगठनको भूमिका कस्तो पाउनु भएको छ र शैक्षिक मुद्दामा कत्तिको सहकार्य भइरहेको छ ?
जिल्लाका शैक्षिक समस्या, शैक्षिक मुद्दाहरुमा विद्यार्थी संगठनहरु एक ढिक्का भएर आन्दोलन होमिने हो भने मैले माथि भनेका उल्लेखित शैक्षिक समस्याहरु हल गर्न सजिलो हुन्छ । समस्या छैन । तर यस जिल्लाको सन्दर्भमा अन्य सहकर्मी विद्यार्थी संगठनहरु शैक्षिक मुद्दाहरुमा केन्द्रीत भइरहेको देखिन्न । विशुद्ध रुपमा पार्टी र नेतृत्वको तावेदारी गर्ने राजनीति भविश्यको निम्ति मात्रै विद्यार्थी राजनीतिमा उहाँहरु रहनुभएको जस्तो लाग्छ । हामीले पटक पटक पहल गर्दा पनि उहाँहरु शैक्षिक समस्या तथा मुद्दाहरुमा एकाकार भएर संघर्ष गर्ने कुरामा पछि हटिराख्नुभएको छ ।
हामीले यो कुरा विगतमा अवैधानिक कलेजका विरुद्ध आन्दोलन गर्दै गर्दाखेरी गहिरो गरी महशुस गरेका छौं । पछिल्लो समय अवैध रुपमा सञ्चालित टिएनटी टेक्निल कलेज, स्यार्पूताल इन्जिनियरिङ कलेजको विरुद्धमा तत्कालिन अखिल भित्रका केही इमान्दार साथिहरुले खेलेको भूमिका र गरेको सहकार्य स्मरयोग्य छ । तर जुन ढंगले रुकुम जिल्लाका शैक्षिक समस्याहरुको निराकरणको निम्ति सबै विद्यार्थी संगठनहरुबिच समन्वय, सहकार्य हुनुपर्ने हो त्यो पुगेको छैन । आगामी दिनमा हाम्रो संगठन अखिल क्रान्तिकारीले सबै विद्यार्थी संगठनहरुलाई एक ठाउँमा उभ्याएर शैक्षिक मुद्दाहरुलाई हल गर्नको निम्ति पहल गर्ने छ ।
शैक्षिक अवस्था सुधार्नका लागि स्वयम विद्यार्थी र अभिभावकको भूमिका कस्तो पाउनु भएको छ ?
यसका लागि स्वयम विद्यार्थी र अभिभावकहरु पनि जिम्मेवार हुन जरुरी छ । विद्यार्थीको दायित्व भनेको पढ्ने हो, अभिभावकले त्यो वातावरण तयार गर्दिनु पर्छ । तर जिल्लाको सन्दर्भमा भने अलि अलि समस्या देखिन्छ । अभिभावकको निगरानी नहुनु, विद्यार्थी आफै पनि अनुशासनमा नहुनुले समस्या बनाएको छ । यसका लागि अभिभावक र विद्यार्थी आफै पनि जिम्मेवार हुनैपर्छ । विद्यालयको अवस्था र वातावरणले पनि प्रभाव पारेको होला । तल्लो कक्षादेखि नै बाल मैत्री व्यवहार अपनाउन अवाश्यक छ र विद्यार्थीलाई नैतिक तथा सामाजिक शिक्षा प्रदान गर्न जरुरी देखिन्छ ।