भाटभोटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्प पीडितलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासन मार्फत प्रालिले खाद्यान्न सहयोग गरेको हो । सुपर मार्केट प्रालिले जिल्लामा १ हजार ६ सय ८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभोनी सुपर मार्केट डि स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्यान्न बापत रुकुम पश्चिममा आएको चामल ३५ लाख मूल्यको हो । पहिलो चरणमा प्रालिले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा एक करोड ११ लाख एक हजार एक सय ११ रुपैयाँ भूकम्प पीडितको नाममा जम्मा गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।
जाजरकोटमा पनि चामल वितरण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पनि दुई तीन दिन भित्र ३५ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिने बताइएको छ । आवश्यक परेमा पुनः राहत लिएर आउने भाटभटेनी सुपर मार्केट प्रालिले जनाएको छ ।