रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० घारीखोलाका पाइलट गोविन्द केसी र आठबीसकोट नगरपालिका ५ घर भई हाल दक्षिण कोरिया रहनुभएका तेजबिक्रम बुढाले भूकम्प प्रभावितलाई नगद सहयोग गर्नुभएको छ । केसी र बुढाले रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितका लागि ५०–५० हजार नगद सहयोग गर्नुभएको हो ।
भुकम्पमा परी घाइते भएका र घर भत्किदा औषधि, लत्ताकपडा, खाद्यान्न जस्ता अत्यावश्यकीय सामग्रीको अभावमा रहेका मानिसको लागी उहाँहरुले एक लाख रुपैयाँ आठबीसकोट नगरपालिको राहत कोषमा जम्मा गर्नुभएको हो ।
रुकुम पश्चिम र जाजरकोट लगायत आसपासका क्षेत्रमा भूकम्पका कारण दुःखमा परेका लागि थोरै भएपनि सहयोग पुगोस भनेर सकेको सहयोग गरेको उहाँहरुले बताउनुभएको छ । साथै उहाँहरुले विपत्तीको यो घडीमा सकेको सहयोग गरी भूकम्प प्रभावितको घाउमा थोरै भएपनि मलहम लगाउन सबैमा आग्रह समेत गर्नुभएको छ ।