Kakhara सबैको खबर सम्पूर्ण खबर
डिभिजन वन कार्यालयद्वारा विपत् फोकल टिम निर्माण, आवश्यक परे जुनसुकै बेला खटिने 
भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएकाे डिभिजन वन कार्यालयकाे टाेली ।

विपत् व्यवस्थापनमा खटिन डिभिजन वन कार्यालय रुकुम पश्चिमले फोकल टिम तयार गरेको छ । गत शुक्रवार जाजरकोटको रामिडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले क्षति गरेका स्थानमा आवश्यकताको आधारमा जुनसुकै बेला  खटिने गरी फोकल टिम निर्माण गरिएको हो । पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि डिभिजन वन कार्यालयका फरेष्टर रमित रावतको संयोजकमा १० सदस्यीय विपत् फोकल टिम निर्माण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

सदस्यहरूमा भागिराम ओली, प्रेमप्रकाश खड्का, कृष्ण विष्ट, दीपेन्द्रकुमार ओली, रोशन केसी, सञ्जय परियार, शान्ता बुढाथोकी र सदस्य सचिवको रूपमा रणबहादुर डाँगीलाई जिम्मेवारी दिएको छ । यो टिमले जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा पुनर्स्थापनामा काम गर्ने निमित्त प्रमुख परियारले जानकारी दिनुभयो । 

400113744_296891156639815_2210824351329589451_n1699716414.jpg
विपत् फोकल टिम निर्माणका लागि आयोजित बैठक ।

फोकल टिम तिहारको बिदा तथा आवश्यकता परेको खण्डमा जुनसुकै वेला पनि तयारी अवस्था रहने उहाँको भनाई छ । कार्तिक २३ गते बसेको कर्णाली प्रदेशको मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णय अनुसार डिभिजन वन कार्यालयले आज फोकल टिम निर्माण गरेको हो । त्यस्तै विपत् व्यवस्थापन कोषमा उपसचिव तथा अधिकृतको ३ दिन र अन्य कर्मचारीहरूको २ दिनको तलब राहत जम्मा गर्ने निर्णय पनि कार्यान्वयन गरिने डिभिजन वन कार्यालयले रुकुम पश्चिमले जनाएको छ । डिभिजन वन कार्यालयको २० जनाको टोली भूकम्प गएदेखि नै भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सक्रिय छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update