प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व आउनुहुने भएको छ । उहाँ मंसिर ३ गते रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिको वडा नम्बर १ मैकोटमा आउनु लाग्नु भएको हो ।
आज पत्रकार सम्मेलन मार्फत नेकपा माओवादी केन्द्र रुकुम पूर्वले प्रधानमन्त्री आउने बारे जानकारी गराएको छ । पार्टीको तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत उहाँ रुकुम पूर्व आउन लाग्नुभएको पार्टीले जनाएको छ । अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्ड रुकुम पूर्व पुग्न लाग्नु भएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभयो ।
अभियानका लागि जिल्ला पुग्न लाग्नुभएका उहाँ पार्टीको वडा समिति बैठकमा सहभागी हुनुहुने छ । बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । त्यस्तै उहाँले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नुका साथै पार्टीका जिल्लास्थित अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
यस्तै प्रधानमन्त्री दाहाले मैकोटमा परम्परागत रुपमा लाग्दै आएको मइँ छिउ सगराँत उत्सव २०८० लाई उद्धाटनसंगै सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्ड अभियानको सिलसिलामा यस अघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा आउनुभएको थियो ।