Kakhara सबैको खबर सम्पूर्ण खबर
रक्षामन्त्री खड्का साढे २६ सय त्रिपाल सहित रुकुम पश्चिममा 
सल्ले विमानस्थलमा झारिएका त्रिपाल ।

रुकुम पश्चिमका भूकम्प पीडितका लागि एकै दिनमा २६ सय ३२ थान त्रिपाल ल्याइएको छ । जिल्लाको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकाको सल्ले विमानस्थलमा गरेर जिल्लामा २६ सय ३२ थान त्रिपाल ल्याइएको हो । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का आफै त्रिपाल लिएर भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुग्नुभएको हो । 

उहाँसँगै चौरजहारी विमानस्थलमा १ हजार ४ सय २३ र मुसिकोट नगरपालिका १ सल्ले विमानस्थलमा १ हजार २ सय ९ गरेर २ हजार १ सय ९२ त्रिपाल उपलब्ध भएको हो । अन्य ४ सय ४० थान त्रिपाल पनि उहाँकै पहलमा जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । आज बिहान उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्का हेलिकप्टर मार्फत चौरजहारी नगरपालिका पुग्नुभएको थियो भने दिउँसो त्रिपाल सहित सल्ले विमानस्थल पुग्नुभएको थियो । 

जिल्लामा एक चरणको त्रिपाल लगायतका खाद्यान्न सामग्री पुगिसकेको र अब भूकम्प पीडितका लागि अस्थायी संरचना बनाउन तर्फ ध्यान दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई उहाँले निर्देशन दिनुभएको छ । पूर्ण रुपमा घर क्षति भएका र आंशिक रूपमा घर क्षति भएका परिवारलाई एकै चरणमा रकम उपलब्ध बनाएर छिटो पुनर्स्थापनामा लाग्न उहाँको निर्देशन छ । 

जिल्ला विपत् को जोखिम कायमै रहेकाले हावाहुरी लगायत अन्य कारणले पीडितलाई समस्या हुन सक्ने भएकाले थप विपत् व्यवस्थापनका लागि राहत सामग्री स्टक राख्न पनि उहाँले सुझाव दिनुभयो । राहत सामग्री प्रभाकारी रूपमा वितरण गर्न, मृतक परिवारलाई नगद राहत छिटो वितरण गरिसक्न र त्यस पश्चात् अस्थायी घर टहरा निर्माणमा जुट्न उपप्रधान तथा रक्षा मन्त्री खड्काको निर्देशन थियो । 

आज जिल्लामा उपलब्ध भएको त्रिपाल स्थानीय तहलाई पठाइएको छ । चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिकामा पाँच–पाँच सय, बाँफिकोट गाउँपालिकामा २ सय ९२ र त्रिवेणी गाउँपालिकामा चार सय थान त्रिपाल पठाइएको छ । चौरजहारी नगरपालिकामा भएको त्रिपाल भोली स्थानीय तहमा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update