जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमको कोषमा ३१ लाख १४ हजार १ सय ४६ रकम जम्मा भएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि जिल्ला विपत् व्यवस्थापन समितिको खातामा विभिन्न संस्था तथा व्यक्तिहरूबाट उक्त रकम जम्मा भएको हो । जिल्ला प्रशासन कार्यालयले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।
सो अनुसार एक सातामा विभिन्न २० वटा सङ्घसंस्था तथा व्यक्तिहरू मार्फत सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार खातामा कात्तिक २३ गतेसम्मको बैङ्क स्टेटमेन्ट अनुसार उक्त रकम जम्मा भएको देखिएको हो । विभिन्न माध्यमबाट पैसा जम्मा भएको उहाँले बताउनुभयो । खातामा अझै सहयोग सङ्कलन भएको हुनसक्ने प्रशासनले जनाएको छ । अहिले बैङ्क बन्द रहेकोले बैङ्क खुलेपछि बाँकी रकम सार्वजनिक गरिने बताइएको छ ।
यस्तै स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा समेत सहयोग रकम जम्मा हुने क्रम जारी छ । जिल्ला विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकम विपत् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ र विपत् सम्बन्धी प्रचलित कानुन बमोजिम खर्च हुने जिल्ला प्रशासन कार्यालय रुकुम पचिमले जनाएको छ ।