Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम: भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई ६७ लाख नगद राहत वितरण 
मृतकका परिवारलाई राहत स्वरुप दुई लाख वितरण गरिँदै ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ । शुक्रवार सानीभेरी गाउँपालिकामा र शनिवार आठबीसकोट नगरपालिकामा राहत वितरण गरिएको हो । सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ। ‘अव कागजात मिलाउन बाँकी रहेका १२ मृतकका ९ घरपरिवारलाई नगद रकम वितरण गर्न बाँकी छ, यसमा ५ जना जिल्ला बाहिरका रहेका छन्, जिल्ला बाहिरकाका हकमा कागजात पुगेपछि सम्बन्धित जिल्लामै राहत पठाइने छ' प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो । सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो । सरकारले निर्णय गरे अनुसार प्रति मृतक २ लाखका दरले नगद राहत वितरण गरिएको छ। एकै घरका एक जना भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र बाँकीलाई एक लाखका दरले थप रकम दिइएको छ । 

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा ५ करोड रकम पठाएको थियो । जसबाट ६७ लाख नगद राहत वितरण गरिएको छ भने अब १२ जना मृतकका परिवारलाई वितरण गर्न बाँकी छ । वितरण पश्चात् बाँकी रहेको रकम भूकम्प पीडितका अस्थायी आवास निर्माण तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । रुकुम पश्चिममा भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update