Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट र रुकुम पश्चिममा ३९ प्रहरी कार्यालयमा क्षति, त्रिपालबाटै सुरक्षा दिँदै प्रहरी 
टेन्टबाट सञ्चालित प्रहरीकाे सेवा ।

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका प्रहरी कार्यालयहरूमा पनि क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका भवन सँगै अन्य प्रहरी चौकीहरूमा भूकम्पले क्षति पुर्‍याएको हो । जाजरकोट र रुकुम पश्चिममा गरेर ३९ वडा प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा ४ वटा भवन भने पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, जुनिचाँदे गाउँपालिका ९ मा रहेको इलाका प्रहरी कार्यालय पंचलादह, भेरी नगरपालिका ३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाई कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्ण रूपमा क्षति भएका हुन् । जिल्लामा भूकम्पले आंशिक क्षति पुर्‍याएका २९ प्रहरी भवन मध्ये ४ वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । अन्य जोखिम रहेका ठाउँहरूमा त्रिपालबाट सेवा प्रवाह भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

यस्तै रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच वटा भवन पूर्ण रुपमा ध्वस्त भएका छन् । भने पाँच वटामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवनमा बस्न नमिल्ने गरी क्षति पुगेको छ । त्यस्तै प्रहरी चौकी पुर्तिमकाँडा, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबीसकोटकाे भवन पूर्ण रूपमा भूकम्पले क्षति गरेको छ ।

प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार सिम्लीको प्रहरी चौकी अरूको घरमा सरेर सेवा दिइरहेको छ । भने आठबीसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको छ । बाँकी अस्थायी प्रहरी चौकी साँख, स्यालाखदी, पिपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update