Kakhara सबैको खबर सम्पूर्ण खबर
घरघरै पुगेर विविध सेवा प्रवाह

रुकुम पूर्वको सिस्ने गाउँपालिका २, ले घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । एकीकृत घुम्ती शिविर मार्फत वडाका १ सय ६५ जनालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । जसमा ७० जना जेष्ठ नागरिक, १८ जना दलित जेष्ठ नागरिक, ३६ जना एकल महिला, ६ जना पूर्ण अशक्त ८ जना अति अशक्त ३४ जना बालबालिकालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

वडाले दुई हप्ता अघि सुरु गरेको एकीकृत घुम्ती शिविरका क्रममा मालपोत २८ हजार २ सय ६० मालपोत कर अशुली भएको छ । ३ सय ५० जना नागरिकको घरमै स्वास्थ्य परीक्षण भएको छ । १ सय ५० जनालाई निःशुल्क औषधी वितरण  गरिएको छ । १ सय २५ घरका ६ सय ५० पशुचौपायालाई औषधी तिवरण तथा परामर्श सेवा दिइएको छ ।

२ सय ७५ घरधुरीलाई तरकारीको बीउ वितरण गरिएको छ भने मौसमी र बेमौसमी तरकारी सम्बन्धिको परामर्श सेवा दिइएको छ । घुम्ती शिविरका क्रममा विद्यालयहरुको अनुगमन, विभिन्न विकास निर्माणका कार्यको अनुगमन पनि गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । सर्वसाधारणको माग संकलन, आवश्यक्ता र गुनासो सुनुवाई पनि गरिएको छ ।

सम्भव भएसम्म शिविरकै क्रममा गुनासो सुनुवाई गरेको र नसक्नेलाई पहल गर्ने गरी प्रतिबद्धता गरेर फर्किएको वडाध्यक्ष केसीले बताउनुभयो । भौगोलिक जटिलता र जनताको समस्यालाई मध्यनजर गरी सहज र जनमुखी ढंगले  सेवा प्रवाह गर्ने र जनताको समस्या र आवश्यकतालाई नजिक बाट बुझ्ने र जन सम्बन्धलाई जिवन्त राख्न नियमित यस्ता खाले शिविर सञ्चालन गरिरहेको वडाध्यक्ष केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update