रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षकको तलब र गाउँपालिकाका जनप्रतिनिधिहरूको सेवा सुविधा स्थानीय विपत् व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ । गाउँ कार्यपालिका बैठकले भूकम्प प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि यस्तो निर्णय गरेको हो । कर्मचारी, शिक्षक र जनप्रतिनिधिको फरक फरक दिनको तलब र सेवा सुविधा कोषमा जम्मा गरिने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार जनप्रतिनिधिहरूको दश दिन बराबरको सेवा सुविधा बापतको रकम कोषमा जम्मा गरिने छ ।
कर्मचारीको हकमा अधिकृत स्तरका कर्मचारी र माध्यमिक तहका शिक्षकको दश दिन बराबरको, सहायक स्तर चौथो तथा पाँचौँ तहका कर्मचारी र प्राथमिक तथा निम्न माध्यमिक तहका शिक्षकको पाँच दिन बराबरको तलब भत्ता स्थानीय विपत् व्यवस्थापनमा कोषमा जम्मा गर्ने आइतबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकामा कार्यरत करार शिक्षक र कर्मचारीहरूको हकमा भने तीन दिन बरावरको तलब भत्ता कोषमा जम्मा गरिने छ । कार्तिक १७ गत्ते राति जाजरकोटको बारेकोट रामिडाँडा केन्द्र भई गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण त्रिवेणी गाउँपालिकामा पनि ठुलो भौतिक क्षति भएको छ ।
कोषमा जम्मा भएको रकम गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत र उनीहरूको पुनर्स्थापनाका लागि खर्च गरिने गाउँपालिकाले जनाएको छ । भूकम्पका कारण त्रिवेणी गाउँपालिकामा पूर्ण र आंशिक गरी चार हजार सात सय २७ घरहरूमा क्षति भएको गाउँपालिकाको तथ्याङ्क छ । गाउँपालिकाले विपत् कोष मार्फत ६ सय ७८ वटा त्रिपाल खरिद गरी वितरण गरिसकेको छ । यस बाहेक सङ्घीय सरकार, प्रदेश सरकार र अन्य सङ्घ संस्थाहरूको तर्फबाट पनि राहत स्वरूप प्राप्त भएको त्रिपाल, टेन्ट, ब्लाङ्केट र खाद्यान्न भूकम्प प्रभावितहरूलाई वितरण भइरहेको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । साथै गाउँपालिकाले भूकम्प प्रभावितका लागि सहयोग गर्न सार्वजनिक अपिल समेत गरेको छ ।