असल छिमेकी नेपाल पोखराले रुकुम पश्चिमका भूकम्प प्रभावितलाई विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ७, ९, ११ र १२ का भूकम्पले घरबार गुमाएका २ सय ३० घरपरिवारलाई तत्काललाई खान र बस्न मिल्ने खालको राहत वितरण गरेको असल छिमेकी नेपाल पोखराका योजना अनुगमन, मुल्याङकण तथा सञ्चार विभाग प्रमुख दिनेश केसीले जानकारी दिनुभयो ।
राहत सामाग्रीमा प्रति परिवार २५ किलोको १ बोरा चामल, दाल २ किलो, नुन १ किलो, खाने तेल २ लिटर, चिउरा २ किलो, चाउचाउ ५ वटा, भुजिया/दालमोठ २०० ग्राम, चिनी १ किलो, चियापत्ति २०० ग्राम, बिस्कुट १२ वटाको प्याकेट, सोयाबिन मस्यौरा, सेनेटरी प्याड ४ प्याकेट, लुगा धुने साबुन २०० ग्रामको ५ वटा, नुहाउने साबुन ७५ ग्रामको ४ वटा रहेका छन् ।
त्यस्तै दाँत माझ्ने मन्जन १ वटा, ब्रस ५ वटा, ब्ल्याङकेट २ थान, पि–फम म्याट ४ मिटर, त्रिपाल २ थान र जेब्रा ब्याग गरी प्रति परिवार १५ हजार ५५ रुपैयाँ बराबरका सामग्री वितरण गरिएको केसीले जानकारी दिनुभयो ।
त्यस्तै नगरका १ सय २० जना गर्भवती तथा सुत्केरी महिलाका लागि सुत्केरी प्याकेज प्रति व्यक्ति ४ हजार ३ सय ७५ रुपैया बराबरको प्याकेजमा वितरण गरिएको भने ४८ परिवार तथा सरकारी निकायका लागि पानी फिल्टर समेत वितरण गरिएको बताइएको छ ।
पोखराबाट राहत लिएर पुगेको टोलीले नगरपालिकाको समन्वयमा भुकम्प प्रभावितहरुलाई राहत आफैं वितरण गरेको हो । राहत असल छिमेकी नेपाल तथा पोखरेली ख्रीष्टिय समुदायको संयुक्त पहल तथा रुकुमेली ख्रीष्टिय मिसन समाजको सहकार्यमा वितरण गरिएको हो ।