Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावितलाई आएन तिहार
जाजरकोटको भेरी नगरपालिका–१ मा यही कात्तिक १७ गते राति गएको भूकम्पले आफू बसेको घर भत्किएपछि पालमुनि बस्नुभएकी वृद्धा । तस्बिर: रत्न श्रेष्ठ/रासस

जाजरकोट भूकम्पले मानवीयसँगै ठुलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यस पटक पूरा हुन सकेन । सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ बर्सिया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठुलो बज्रपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदै छ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ । यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँ ठाउँमा देउसी भैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको क्षतिका कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुख दुःख साटिन्थ्यो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले बज्रपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।” तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसकोट नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताउनुभयो । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताउनुभयो । त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताउनुभयो ।

यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गर्नुभयो । उहाँले पनि सम्बन्धित निकायलाई अस्थायी बसोबासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गर्नुभयो । भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तिहार लगत्तै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update