नरेन्द्र केसी
कुनै पनि शैक्षिक संस्था तथा सार्वजनिक प्रतिष्ठानहरू देश र समाजका मुख्य पुँजी एवं अमूल्य निधि मानिन्छन् । यिनीहरूसँग तमाम जनताको भविष्य जोडिएको हुन्छ । यिनीहरूको संरक्षण तथा संस्थागत विकास गर्नु सबै नागरिकहरूको नागरिक दायित्व हुन्छ । यस्ता सार्वजनिक संस्थाहरूमा भ्रष्टाचार गर्नु, आफ्नो स्वार्थ सिद्ध हुने तरिकाले तिनीहरूको प्रयोग गर्नु या यस्ता संस्थाहरूलाई आफ्ना कार्यकर्ताको भर्ती केन्द्र बनाउनु सभ्य मुलुकहरूमा अपराध मानिन्छ । केही वर्ष अगाडिको कुरा हो नेदरल्याण्ड्सका प्रधानमन्त्रीले सार्वजनिक बाटोमा केही मिनेट मात्र गाडी रोक्दा दण्डित हुन परेको थियो र विश्वमा हेर्ने हो भने यस्ता घटना सर्वत्र देख्न पाइन्छ । तर हाम्रो देशको दृष्टान्त यसको ठिक विपरीत छ । शैक्षिक संस्था या अन्य कनै सार्वजनिक संस्थाहरूमा बेथिति गर्ने, तिनीहरूलाई दोहन गर्ने भ्रष्टाचारको अखडा बनाउने कुरामा एक प्रकारको होड नै चल्छ । यहाँ जसले जति बढी बेथिति गर्यो त्यही बलियो ठहर्ने परिपाटी विद्यमान छ र सार्वजनिक सरोकारका विषयका कुरामा चासो राख्ने, बेथिति विरुद्ध आवाज उठाउने सचेत र जागरूक नागरिकको नितान्त कमी देखिन्छ ।
प्रसङ्ग हो रुकुम जिल्लाकै जेठो शैक्षिक संस्था त्रिभुवन जनता माध्यमिक विद्यालयको । जिल्लाकै शैक्षिक आकर्षणको केन्द्र रहेको र कुनै समयमा अत्यन्तै वैभवशाली संस्थाको रूपमा रहेको यो विद्यालय केही स्वार्थी व्यक्ति र समूहको कोपभाजनको सिकार बनिरहेको छ । विद्यालयलाई नजिकबाट नियालिरहेका केही जानकार र सरोकारवालाहरूले मलाई दिएको जानकारी अनुसार करिब वि.सं. २०५० सालतिरबाट केही कुत्सित मनसाय भएका समूहको एकछत्र हालीमुहाली रहेको यो संस्था हाल आएर चरम स्वार्थ सिद्ध गर्ने थलोको रूपमा परिणत भइरहेको छ । हाल विद्यालयको वरिपरि देखिने दृष्टान्त त्यसैका उपज हुन । प्रवृत्तिगत रूपमा यहाँ भइरहेका गतिबिधिहरुलाई यस प्रकारले उल्लेख गर्न सकिन्छ ।
१) भौतिक सम्पत्तिमाथिको लुछाचुँडी :
करिब ३५/३६ सालतिर तत्कालीन खलङ्गा गाउँ पञ्चायतको १ र २ वडा र चौरजहारी नगरपालिकामा समेत गरी आधा जसो उपयोगी जमिन त्रिजमाविको थियो । पछि बिस्तारै यसको सम्पत्ति वितरित र खण्डित हुँदै गयो । पहिले कतिपय विद्यालयको जग्गामा अन्य सरकारी संयन्त्रहरू स्थापना भएको भएता पनि बि सं २०५० पछि विद्यालयको जग्गा अन्धाधुन्ध रूपमा कौडीको भाउमा वितरण गरियो । यसरी जग्गा पाउनेमा तत्कालीन समयमा स्थानीय निकाय सञ्चालन गरिरहेको पार्टीका कार्यकर्ता या विद्यालय प्रशासनको नजिक रहेका व्यक्तिहरू या नातेदारहरू थिए भन्ने विद्यालयको इतिहास खोतल्दा विद्यालयको इतिहासमा यो विद्यालय प्रतिको पछिल्लो ठुलो घात थियो । आश्चर्यको विषय त यो छ कि यसरी जग्गा विक्री वितरण गर्दा उठेको रकम सीमित नै भए पनि उक्त रकम कहाँ र कसरी उपयोग भयो भन्ने कुरा अहिले सम्म कुनै पारदर्शी हिसाब किताब छैन । यस्तो लाग्छ विद्यालयमा जसले धेरै भ्रष्टाचार गर्न सक्छ उ नै सबैभन्दा लोकप्रिय र पुरुषार्थ हुने गरेको छ ।
२) आर्थिक सम्पत्तिको व्यापक हिनामिना:
साठीको दशकको सुरुवात सँगै देशमा चर्केको राजनीतिक द्वन्दको कारणले जिल्ला भरिका विद्यार्थीहरुका लागि पठन पाठनको आर्कषणको केन्द्रविन्दु त्रिजमावि नै थियो । विद्यार्थीहरुबाट शुल्क उठाउनमा कुनै रोकटोक थिएन, विद्यालयले मनपरि शुल्क उठाउन पाउथ्यो । यसरी उठेको रकम र अन्य स्रोतबाट उठेको रकमको कुनै सदुपयोग हुँदैनथ्यो । त्यसको दुरुपयोग र कार्यकर्ता भर्ती गर्ने र पोस्ने काम हुन्थ्यो अहिले देखिएका कतिपय समस्या त्यसै बेला सिर्जिएका हुन । धेरै त होइन कम्तीमा मात्र ५ वर्ष पछाडि फर्केर विद्यालयको आर्थिक पाटो अध्ययन गर्ने हो भने करोडौँ करोड रकमको आर्थिक घोटालाहरू देखिन्छन् । विद्यालयको त्यत्रो सम्पत्ति भएर पनि हाल विद्यालय खाता ऋणात्मक र अलिकति पनि स्थायी तथा अक्षय आर्थिक कोष छैन । यहाँहरूलाई विदितै छ गत वर्ष १८ महिनाको मात्र आन्तरिक लेखा परीक्षण गर्दा रु.५६ लाखको आर्थिक अनियमितताको प्रतिवेदन आएको थियो । विद्यालय भित्र पोसाक र पाठ्यपुस्तकमा अस्वाभाविक व्यापार, कम्प्युटर सम्बन्धी सामग्रीहरूमा ठुलो घोटाला, सरकारको अनुदान प्राप्त भौतिक संरचनाहरूको निर्माणमा गुणस्तरहीन कार्य र कमिसनको खेल धन्दा, लागू औषधको गैर कानुनी धन्दा, कर्मचारी भर्ना तथा शिक्षक सरुवा आदिमा लाखौँको आर्थिक चलखेल र ट्युसन सेन्टरबाट आर्थिक व्यापार गर्ने हेर्दा विद्यालय एउटा शैक्षिक संस्था नभएर एउटा कर्पोरेट हाउस रूपमा सञ्चालन भइरहेको अवस्था थियो । यिनै कुराहरूलाई नियन्त्रण खोज्दा विव्यस र विव्यस अध्यक्षको व्यक्तिगत चरित्रहत्या गर्ने सम्मका चरम रूपमा निरन्तर हर्कतहरु भइरहेका छन् र विद्यालयका ९० प्रतिशत शिक्षक कर्मचारीहरूलाई उक्साएर विव्यस विरुद्ध नगरपालिकामा धाउन लगाएको कुरा धेरै दिन बितेको छैन ।
३) मेधावी शिक्षकहरूको बहिर्गमन : विद्यालयमा रहेका कतिपय अत्यन्त क्षमतावान् शिक्षकहरूलाई हतोत्साहित गराउने वातावरण सृजना गरियो जसले गर्दा ती शिक्षकहरू बहिर्गमन भए भने तिनीहरूको ठाउँमा अत्यन्तै Low Profile भएका शिक्षक भित्रिए भन्ने छ जो अहिले विद्यालयको प्रमुख समस्याको रूपमा रहेका छन् ।
४) कमजोर शिक्षकहरूको उच्च मनोकाँक्षा :
अहिले विद्यालयमा उच्च आकांक्षा राख्ने र ठुलठुला कुरा गर्ने, विद्यालयमा गैर शैक्षिक वातावरण सृजना गर्ने तथा उपलब्ध पदहरू केवल आफ्ना मात्र हुन भन्ने सोच राख्ने शिक्षकहरू माथि भनिएका Low Profile शिक्षक हुन जसले विद्यालयमा आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र पेस गर्ने सम्म मात्र पनि आँट गर्न सक्दैनन् अथवा शिक्षक सेवा आयोगले निकालेको नतिजाको मेरिटोक्रेशीमा वैकल्पिक थिए । कतिपय चाहिँ विद्यालयमा आफ्ना बच्चाहरूलाई कहिल्यै नदेखाएका जसको विद्यालय प्रति न भरोसा छ न दायित्वबोध नै । उल्टै यिनीहरूको दादागिरीले इमान्दर जनशक्ति अपमान बोध गरेर मनोबल गिराएर शैक्षिक गतिविधि गुणस्तर घटिरहेको यो कुराको प्रसङ्ग उप्काउँदा सम्बन्धित शिक्षकहरू आफूहरूलाई मानहानि तथा अपमान गर्ने गरेको भनेर आफ्नो बचाउ गर्ने गरेको पाइन्छ । उनीहरूको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्ने भन्दा पनि राजनीतिक खोल ओढेर चिया चौतारोमा अन्तर्राष्ट्रिय स्तरमा गुड्डी हाँक्ने र राजनीतिक दलका नेताहरूको ढोका चहार्दै पेसागत हकहितको नाइके भनेर विद्यार्थीलाई श्रमको महत्त्व नबुझाएर चरम ठालुवादलाई प्रश्रय दिने गरिरहेका पाइन्छ ।
५) कार्यकर्ताको भर्ती केन्द्र :
माथि भनिएझैँ विद्यालयको साधन र श्रोतलाई दोहन गर्न तथा आफैबाट सृजित कतिपय अनावश्यक क्रियाकलापहरूलाई ढाकछोप तथा व्यवस्थापन गर्न तत्कालीन रूपमा विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्रको रूपमा प्रयोग गरियो जसको विद्यालयमा वर्तमानमा त्यत्रो सङ्ख्यामा शिक्षक र कर्मचारीहरूको आवश्यकता छैन । आफ्नो कुत्सित राजनैतिक स्वार्थ पुरा गर्ने, तत्कालीन समयका अत्यन्त सोझा, इमानदार र ऐतिहासिक सम्मान दिए पुग्ने मुसिकोटे ठकुरी शासकहरूलाई भ्रममा पार्दै साह्रै शालीन तवरले हातमा लिएर आफूलाई विद्यालय इतिहासमा सस्तो लोकप्रियता आर्जन गर्ने हेतुले आफ्ना आफन्त निकटस्थहरूलाई रोजगारी दिने गरी आन्तरिक श्रोतको कुनै यकिन नै नगरी अनधिकृत कर्मचारी विनियमावली समेत बनाई कर्मचारीहरूलाई नियम विपरीत विद्यालयमा स्थायी आर्थिक कोष नै खडा नगरी विद्यालयलाई ऋणमा डुबाएर कसैको रोजीरोटीको नाममा विद्यालयको बर्हम्लुट गर्नुले वर्तमानमा ठुलो समस्या निम्त्याएको छ । यो समूहलाई निरन्तर पालित पोषित गर्न प्रत्येक वर्ष अभिभावकहरूले करिब आधा करोड शुल्क विद्यालयमा जम्मा गरिरहनु परेको छ । यसैलाई नियमन गर्न खोज्दा तीनै स्वार्थ समूहको चरम चलखेलको चक्रव्यूहमा परेर विद्यालयमा शैक्षिक वातावरण खलबलियो भन्ने नक्कली अफवाह फैलाएर विव्यस विघटन गर्ने सम्मको नगर सरकारले दुष्प्रयास गर्यो । जो अत्यन्त भर्त्सनायोग्य छ ।
वर्षौँदेखि थुप्रिएको फोहोरको डङ्गुर एकैचोटी सफा गर्ने कुरा स्वाभाविक रूपमा चुनौतीपूर्ण हुने नै भयो, जसमा व्यापक अवरोधको सामना गर्नु परिरहेको छ । मैले उपर्युक्त पक्षहरूको उल्लेख गर्दा केवल नकारात्मकता, कुनै पूर्वाग्रह र आरोपको शृङ्खलाहरु जस्तो बुझिन सक्छ तर भित्री यथार्थ यही नै हो ।
६) गुणस्तरहीन भौतिक संरचना :
विद्यालयको अचल सम्पत्ति सक्नुको कारणमा भौतिक संरचनामा खर्च भएको त भनिन्छ तर अहिले सम्मका भौतिक निर्माणको इन्जिनियरिङ परीक्षण गर्ने हो भने कुनै पनि भरपर्दो संरचना निर्माण भएको देखिँदैन । मित्र राष्ट्र भारत तथा नेपाल सरकारबाट प्राप्त रकमहरूबाट पनि कहीँ कतै गतिलो संरचना बनेको छैन, बनेका संरचना भूत बङ्गला र मानव जेपाला जस्तै छन् । अचानक बढी रेक्टरको भूकम्प आयो भने कति मानवीय क्षति हो यसको कुनै कल्पना सम्म गर्न सकिँदैन ।
७) उच्च राजनैतिक दाउपेच :
विद्यालय भित्र राजनैतिक दाउपेच तीव्र छ यो या त्यो रूपमा प्रस्तुत हुने यस प्रकारको दाउपेचले विद्यालयको स्थायित्व र विकासलाई ठुलो असर गरिरहेको छ । कतिपय राजनैतिक दलका नेताहरूको राशन पानी समेत विद्यालयको प्रशासकले घरमै पुर्याइदिनु पर्ने बाध्यता भएको र ती विद्यालय प्रशासकहरू पनि आफूलाई पूर्णतया भ्रष्टिकरणको बाटोमा हिँडाउँदै आफ्नै र विद्यालयको भविष्य नै अन्धकारमा दिशामा लिइरहेको देखिन्छ । राजनैतिक दलहरूका प्रमुख नेताहरूको आफ्नो राजनीति जोगाउने ध्याउन्नमा आफ्नो दलको विचार बोक्ने शिक्षक र कर्मचारीहरूले जति सुकै गैर कानुनी कामहरू गरे पनि दह्रो राजनीतिक संरक्षण गरिरहेको देखिन्छ । विद्यालयमा राजनैतिक आँखाले हेर्ने हो भने सबैभन्दा बढी विद्यालयको सम्पत्तिको दोहन नेपाली काँग्रेसको पार्टीको खोल ओढेर काम गर्ने विव्यस र प्रशासकहरूले गरेको पाइन्छ भने पछिल्लो ८ वर्षमा नेकपा माओवादी केन्द्रको खोल ओढेका स्वार्थ समूहले त्यसरी नै निर्लज्ज तवरले विद्यालयको दोहन गरेको पाइन्छ । नेकपा माओवादी केन्द्रलाई गलत सूचना दिई भ्रममा पारेर कम्बल भित्र बसेर घिउ खाने भने जस्तै त्यो भ्रमपूर्ण रैथाने वाद लागू गरेको आफूलाई अभिजात ठान्ने वर्गहरूलाई हाल आएर उक्त पार्टीले पहिचान त गरिसकेको जस्तो लाग्छ छ तर ती स्वार्थ समूहहरू उक्त पार्टी भित्र समेत हाबी भएको कारण उक्त पार्टी भित्र सुशासन पक्षमा उभिएका युवा नेतृत्वहरूलाई विद्यालय सुशासन पक्षमा काम गर्न अझै हम्मे हम्मे परिरहेको छ । सबै कुरा थाहा पाएर पनि नेपाली काँग्रेस लगायत पुराना मूलधारका राजनीतिक दलहरू समेत अझै त्यो जालो फ्याँकिहाल्ने पक्षमा छैनन् । जसको कारण यो विद्यालयलाई राजनीतिक इपिसेन्टर र जिल्लाकै अत्यन्त सामरिक महत्त्व राख्ने विद्यालय भनेर अर्थ्याउने गरिन्छ । विद्यालय शान्ति क्षेत्र हो भन्ने कुरा बुझेर पनि उपर्युक्त यो भाष्यलाई अन्त्य नगरे सम्म अपेक्षित विद्यालय सुधारको गुन्जाइस देखिँदैन ।
८) स्थानीय सरकारको अकर्मण्यता :
स्थानीय सरकार विद्यालय मैत्री हुनुको साटो उसका हरेक क्रियाकलाप विद्यालय हित विपरीत छन् । वर्ष बित्दा पनि विद्यालयमा रिक्त रहेका दरबन्दिहरुमा शिक्षकहरू नियुक्त गर्न नसक्ने, नचाहनु या हुन नदिनु, पदपूर्ति नभएका ती शिक्षकहरूको तलब वर्ष दिन काट्दा पनि त्यो रकम कता खर्च हुन्छन् त्यसको कुनै पारदर्शिता र जबाफदेहिता नदेखिनु, सङ्घीय अनुदानबाट प्राप्त सहयोगहरूमा कमिसन रकम नदिएको झोकमा करिब आधा वर्ष बित्दा पनि विद्यालयको आपूर्तिकर्तालाई भुक्तानी नदिनु, आर्थिक अनियमिततामा संलग्न कर्मचारीहरूको लाखौँको अनियमितता गरेको बेरुजु रकम पनि असुल गर्न नदिएर शिक्षकहरूलाई अनावश्यक रूपमा उचालेर, उल्टै झुटा मुद्दाहरूमा सृजना गर्न लगाएर वर्तमान विव्यस विरुद्ध बन्द हडताल गराउनमा स्वयम सरकारले अप्रत्यक्ष प्रेरित गर्नु र दशक लगाएर बल्लतल्ल गठन गरेको विद्यालय व्यवस्थापन समिति विघटन गरेको निर्लज्ज घोषणा गर्नु आदि स्थानीय सरकारले गरेका हदैसम्मको गैर जिम्मेवार क्रियाकलापहरू हुन । वर्तमान मुसिकोट नगरपालिका प्रमुख महेन्द्र के.सी. निर्वाचित भएको केही महिनासम्म आफ्नो घर आँगनमा रहेको विद्यालय सुधारका लागि इमानदार प्रयास गरिरहनु भएकै थियो जब सुधारका कदमहरू अगाडी बढ्यो विद्यालयमा वर्षौँदेखि आर्थिक गैर लाभ लिइरहेको स्वार्थ समूह विचलित भएर एक्कासि टाउको उठाएर आक्रामक रूपमा उहाँलाई घेराबन्दी गर्न थाल्यो । विद्यालय सुशासनको पक्षमामा दह्रो रूपमा उभिएर आफ्नो कार्यकालमा नमुनायुक्त काम गर्न लगाउने र गर्नु पर्ने अवस्थामा उहाँ विद्यालयमा आर्थिक हिनामिना गरेका कर्मचारीहरूको पक्षमा उभिएर भ्रष्टाचारीको संरक्षक र पालक बन्ने धुनमा दिन प्रतिदिन लागेको भन्ने खबरहरूले हामी जस्ता सरोकारवालाहरूलाई असाध्यै खिन्न बनाएको छ । यसैको कारण उहाँमा कतै आफ्नो पार्टी र आफ्नो राजनीति कमजोर हुन्छ कि भन्ने कमजोर व्यापारिक मनोविज्ञान उहाँमा हाबी भएको देखिन्छ । स्थानीय चुनावको बेला हातै धोएर उहाँलाई पराजित गराउन लागि परेका वा गलत भूमिका निर्वाह गरेका स्वार्थी तत्त्वहरू निर्वाचित भए पछि सबैभन्दा निकट र सहयोगी जस्ता देखिएर स्वार्थ बाँडफाँड लागे पछि आफू आजीवन शक्ति र पदमा रहिरहने छु भन्ने दिग्भ्रमित मानसिकता दह्रो रूपमा उहाँमा विकास हुँदै गएको देखिन्छ जसको कारण राजनीतिमा मानिसहरू यसरी असफल हुँदै जाने गरेका छन् । समयमा नै नसोच्ने हो भने अब यो उहाँको र उहाँको पार्टीको मुसिकोटमा राजनीतिक पतनको मार्ग चित्र प्रस्ट भइसकेको छ ।
विद्यालयलाई नजिकबाट नियालिरहेका केही जानकार र सरोकारवालाहरूले मलाई दिएको जानकारी अनुसार करिब वि.सं. २०५० सालतिरबाट केही कुत्सित मनसाय भएका समूहको एकछत्र हालीमुहाली रहेको यो संस्था हाल आएर चरम स्वार्थ सिद्ध गर्ने थलोको रूपमा परिणत भइरहेको छ ।
यी सब कारणहरूले गर्दा साह्रै दुख लाग्छ कि त्रिजमाबि अहिले आएर एउटा नकारात्मकताको प्रतिबिम्ब बनिरहेको छ । केही विद्धता वर्ग समेत अझै भ्रममा छ । यसैको लागि वर्तमान विद्यालय व्यवस्थापन र प्रशासन यिनै कुराहरूलाई व्यवस्थित गर्न तल्लीन छ तर हामीलाई फलामका चिउरा चपाए सरी भएको छ । वर्षौँदेखि थुप्रिएको फोहोरको डङ्गुर एकैचोटी सफा गर्ने कुरा स्वाभाविक रूपमा चुनौतीपूर्ण हुने नै भयो, जसमा व्यापक अवरोधको सामना गर्नु परिरहेको छ । मैले उपर्युक्त पक्षहरूको उल्लेख गर्दा केवल नकारात्मकता, कुनै पूर्वाग्रह र आरोपको शृङ्खलाहरु जस्तो बुझिन सक्छ तर भित्री यथार्थ यही नै हो । यसको लागि विद्यालयको वास्तविक अवस्थाको अध्ययन गर्न अझै अर्को एउटा स्वतन्त्र छानबिन समिति नै गठन गरेर काम गर्ने हो भने यिनै कुराहरूको थप तथ्य सहितको प्रतिवेदन प्राप्त हुने छ । अब आफ्नो कार्यकालमा नै देशकै नमुना विद्यालय बनाउने सपना शायद यतै कतै हराउने हो कि भन्ने लागेको छ । मेरो अन्य व्यक्तिगत मिसनका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर यो भन्दा बढी समय काम गर्ने मेरो भित्री र व्यक्तिगत इच्छा पनि छैन । आशा छ, आगामी समयमा मेरो अनुपस्थितिमा पनि विद्यालय सुशासनको पक्षमा धेरै कामहरू हुने छन् जसको पछाडि विद्यालयको शुभेच्छुकहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अब जे भए पनि यी सब तथ्यहरू यहाँको प्रबुद्ध वर्गले क्रमशः बुझिसकेको छ । सुधारको पक्षमा विशाल जनसमुदाय छ । यी सबै तथ्यहरू बुझेर एक पटक शिक्षा प्रेमी आम रुकुमेली जनसमुदायहरू जुरुक्क उठ्नु पर्ने छ र गलत तत्त्वलाई परास्त गर्नु पर्ने छ । हामीले आफ्नो प्यारो शैक्षिक धरोहरलाई जगेर्नुका साथै माथि उठाएर अगाडी बढ्नु पर्ने छ । सम्भव भए सम्म विद्यालय सुधारको लागि अबको बाटोमा काम गर्नु पर्ने थप पक्षहरूको विषयमा विद्यालय सुधार योजना सहित अर्को अङ्कमा प्रस्तुत हुने नै छु ।
साथै यहाँहरूको अमूल्य सुझावको अपेक्षा समेत गरेको छु ।
धन्यवाद ।
लेखक त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गाको विव्यसको अध्यक्ष हुनुहुन्छ ।