Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा दुई सय १३ वटा अस्थायी सिकाई केन्द्र बन्दै
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर १ काे चाइनाबगरमा अवस्थित भेरी दाेभान मावि र विद्यालयमा निर्माण गरिएकाे अस्थायी सिकाई केन्द्र ।

भूकम्पले विद्यालय भवनमा क्षति गरी तत्काल पठन पाठनको अवस्था नभएपछि रुकुम पश्चिममा अस्थायी सिकाई केन्द्र मार्फत पठन पाठन सुरु गरिएको छ । जिल्लाभरमा कुल दुई सय १३ वटा अस्थायी सिकाई केन्द्र स्थापना गरिँदै छ । हाल तत्काललाई उक्त सिकाई केन्द्र मार्फत पठन पाठनको तयारी गरिएको छ । अहिलेलाई सबैभन्दा बढी क्षति पुगेका आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी सिकाई केन्द्र स्थापना गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार आठबीसकोट नगरपालिकामा एक सय ३९ वटा र सानीभेरी गाउँपालिकामा ७४ वटा सिकाई केन्द्र स्थापना गरिने छ । अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उक्त केन्द्रबाटै पठनपाठन सुचारु हुने उनको भनाई छ । आठबीसकोट नगरपालिकाले युनिसेफसँग मिलेर सिकाई केन्द्र स्थापना गरी पठनपाठन सुचारु गर्ने तयारी भइरहेको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । भूकम्पले बस्न नमिल्ने विद्यालयमा सिकाई केन्द्र मार्फत पठन पाठनको तयारी भइरहेको उहाँको भनाई छ । 

सोमबार देखि विद्यालय सञ्चालन भए पनि अबको एक साता भित्र पठन पाठन सुचारु हुने उहाँले बताउनुभयो । सिकाई केन्द्र निर्माणको काम धमाधम भइरहेको र एक साता भित्रमा उक्त केन्द्र मार्फत पूर्णरुपमा पढाई सुचारु हुने उहाँले बताउनुभयो । ७४ वटा सिकाई केन्द्र निर्माण गर्न लागेको सानीभेरी गाउँपालिकाले पनि पठनपाठन सुचारु हुन एक साता लाग्ने जानकारी गराएको छ । गाउँ शिक्षा शाखा प्रमुख भुपालसिँह विष्टले धमाधम सिकाई केन्द्र निर्माणको काम भइरहेको जनाउनुभयो । यहाँ पनि युनिसेफले सहयोग गरिरहेको छ । 

सबैतिर तोकिएका सिकाई केन्द्र स्थापना भएपछि पूर्ण रूपमा पढाई सुरु हुने उहाँको भनाई छ । त्यस्तै गाउँपालिकाले पाठ्यपुस्तक र विद्यालय पोसाक समेत उपलब्ध गराउने जनाएको छ । करिब ५ हजार विद्यार्थीलाई पाठ्यपुस्तक र पोसाकको आवश्यकता देखिएको विष्टले बताउनुभयो । यसको व्यवस्थापनका लागि पहल भइरहेको उहाँको भनाई छ । 

सोमबारबाट बिद्यालय खुलेपनि पठनपाठन सुरु हुन सकेको छैन् । निर्माण गर्ने भनिएका अस्थायी सिकाई केन्द्र निर्माण नसकिएकाले सबैतिर पठ्न पाठन सुरु हुनसकेको छैन् । सरसस्वती मावि सानीभेरी १० अर्माका प्रध्यानाध्यापक पदमबहादुर ओलीले विद्यालय खोलिएपनि पढाई सुरु भइनसकेको बताउनुभयो ।

कक्षा कोठामा बस्ने अवस्था नभएको र सिकाई केन्द्र निर्माणको क्रम जारी रहेकोले विद्यार्थीलाई खुला चौरमा राखेर परामर्श गर्ने र केही समय राखेर घर पठाउने गरेको उहाँको भनाई छ । रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ । यसका साथै एक सय ३८ वटा शौचालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांक छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update