Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट विपत् व्यवस्थापन कोषमा १३ लाख जम्मा 

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले क्षति गरेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई विभिन्न व्यक्ति तथा संस्थाहरूले नगद सहयोग गरेका छन् । 

नगरपालिकाको विपत् व्यवस्थापन प्रकोप खातामा विभिन्न ९ वटा  सङ्घसंस्था तथा व्यक्तिबाट हालसम्म १३ लाख रकम सहयोग भएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार केहीले नगरपालिकामै पुगेर चेक हस्तान्तरण गरेका हुन् भने केहीले नगरपालिकाको खातामा रकम जम्मा गरेका हुन् । 

नगरपालिकालाई सबैभन्दा बढी ५ लाख रकम इन्द्रेणी फाउन्डेसन काठमाडौँले सहयोग गरेको छ । त्यस्तै बर्दिबास नगरपालिका महोत्तरीले ३ लाख, रुकुम पश्चिमका बालकृष्ण केसी र दीपक कसीले समान १ लाख ३० हजार, ढोरपाटन उद्योग वाणिज्य सङ्घ बुर्तिबाङ बाग्लुङले ७१ हजार रकम सहयोग गरेको शाहले जानकारी दिनुभयो । 

मामाभान्जा हार्डवयर एण्ड सप्लार्यस प्राली सानीभेरी गाउँपालिका द्वारा ५० हजार, डाक्टर राजन पाण्डे नेपालगन्जबाट ६६ हजार, सेन्टर कलेज काठमाडौँद्वारा २८ हजार, डम्बरबहादुर सोडारी कैलालीबाट २५ हजार रकम सहयोग भएको नगरपालिकाले जनाएको छ ।  

भूकम्पले आठबीसकोट नगरपालिकामा मात्रै ४ हजार २ सय ७३ घरमा पूर्ण रूपमा क्षति गरेको छ भने २ हजार १८ घरहरूमा आंशिक क्षति पुगेको छ । सामान्य क्षति १ हजार ७ सय घरमा पुगेको नगरपालिकाको भनाई छ । आठबीसकोटमा मात्रै भूकम्पमा परी ४२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update