Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मन्दिरमा श्रीमद् भागवत विराट महायज्ञ सुरु 
महायज्ञ उद्घाटन गर्दै मन्त्री भिमप्रकाश शर्मा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको डिग्रे साइकुमारी मन्दिरमा श्रीमद् भागवत विराट महायज्ञ सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसरमा महायज्ञ सुरु भएको हो । 

महायज्ञ मङ्सिर १२ गतेसम्म सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । आज एक कार्यक्रमका बिच महायज्ञको उद्घाटन गरिएको हो । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले महायज्ञको उद्घाटन गर्नुभयो । 

यसैबिच डिग्रे मन्दिरमा एक सय आठ कलश यात्रा समेत गरिएको थियो । महायज्ञमा तुलाधान, धान्याञ्चल, पाठ श्रवण, भजन कृतन, झाँकी, प्रवचन लगायत हुने महायज्ञका वाचक विष्णु गौतमले जानकारी दिनुभयो । महायज्ञको वाचकका रूपमा विष्णु गौतम र उप वाचकमा रबि गौतम रहेको बताइएको छ । 

डिग्रे मन्दिरमा ८४ सिद्ध मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महायज्ञ उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी लगायतको आतिथ्यता रहेको थियो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव डिलबहादुर केसीले गर्नुभएको थियो । कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रेमा यो वर्ष मङ्सिर ७ गते देखि ११ गतेसम्म मेला लाग्दै छ । 

हरेक वर्षको कार्तिक हरिबोधनी एकादशी देखि पूर्णिमाको दिनसम्म पाँच दिन मेला लाग्छ भने पूजापाठ हुने गर्दछ । डिग्रे मन्दिरमा पूजापाठ तथा दर्शन गर्नाले मनले चिताएका पुग्ने विश्वास छ । मेला अवधिभर पूजापाठ र दर्शनका साथै मन्दिरमा बोकाको बली समेत दिने गरिएको छ । 

मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ लगायतका जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update