Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प पीडितका घर निर्माण गर्दा लाग्ने सामग्री निःशुल्क उपलब्ध गराउन रास्वपाको माग
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइदै ।

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। भूकम्प पीडितहरूका लागि विभिन्न ६ बुँदे माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्लाभर भूकम्प पीडित परिवारको लागि भत्किएका घरहरू पुनर्निर्माण गर्न ढुङ्गा, गिट्टी, बालुवा र काठ निःशुल्क रूपमा उपलब्ध बनाउन सरकार समक्ष माग राखिएको रास्वपा कर्णाली प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पले क्षति पुर्‍याएका घरमा पुनर्निर्माण गर्नुपर्ने भएकोले निर्माण सामाग्री रड, सिमेन्ट, रङ लगायतका सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्ने जाेखिम हुँदा निरन्तर रूपमा अनुगमन गर्न माग गरिएको छ । त्यस्तै भूकम्पले क्षति पुर्‍याएका भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी हुन आवश्यक रहेकाे भन्दै भवन निर्माण सम्बन्धी संहिता लागु गरी सुरक्षित आवास निर्माण गर्नुपर्ने, अस्थायी आवास निर्माणको कार्य तदारुकताका साथ अघि बढाउन र भत्किएका घरहरूको पुनर्निर्माण गर्न पुनर्निर्माणको कार्य योजना जतिसक्दो छिटो ल्याउन पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ।

विद्यालयका भौतिक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएकोले अस्थायी सिकाइ केन्द्र निर्माण गरी तत्काल पठनपाठन सुरु गर्न र विद्यालयका पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकतामा राख्न पनि माग गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम रुकुम पश्चिमले जनाएको छ । पार्टीका कर्णाली प्रदेश इन्चार्ज पवनराज देवकोटा, जिल्ला सहसंयोजक भोलाप्रसाद केसी, कर्णाली प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख शाही, प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य रतनबहादुर विश्वकर्मा र निर्वाचन क्षेत्र समिति सभापति यमराज डाँगीले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ध्यानाकर्षण बुझाएका हुन ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update