Kakhara सबैको खबर सम्पूर्ण खबर
धमाधम बन्न थाले अस्थायी आवास 
आठबीसकाेट १४ मा निर्माण गरिएकाे अस्थायी आवास ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणको काम सुरु गरिएको छ । विभिन्न व्यक्तिहरू मिलेर आठबीसकोट नगरपालिकाको १४ जामिरकोट पूर्ण गाउँमा भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन आवास निर्माणको काम सुरु गरिएको हो । पहिलो चरणमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर जामिरेकोट पूर्ण गाउँ, छेपारे टोलमा दश वटा अस्थायी आवास निर्माण गर्न लागिएको नेतृत्वकर्ता इन्जिनियर मानबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच जना व्यक्तिहरू मिलेर पहिलो चरणमा मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माणको काम थालिएको छ । तीन वटा भने निर्माण सम्पन्न भई प्रभावित परिवार बस्न थालिसकेका छन् । अन्य सात वटा अस्थायी आवास केही दिन भित्र निर्माण सम्पन्न गरी मृतक परिवारलाई हस्तान्तरण गरिने शाहीले जानकारी दिनुभयो । भूकम्पले भत्किएका घरबाट निस्केका काठ तथा अन्य स्थानीय स्तरमा पाइने काठको प्रयोगबाट आवास निर्माण चलिरहेका शाहीको भनाई छ ।

निर्माण चलिरहेका आवासको आधा काम सकिएको र काठको अभावमा केही ढिलाइ भइरहेको शाहीले जानकारी दिनुभयो । काठको व्यवस्थापन गरेर छिट्टै घर निर्माण गरी हस्तान्तरण गरिने उहाँले बताउनुभयो । दुई कोठामा पाँच जनाको परिवार बस्न मिल्ने गरी अस्थायी आवास निर्माण भइरहेको बताइएको छ । मोडल हाउसको रूपमा सुरु गरिएको अस्थायी आवास निर्माण गर्न प्रत्येक आवासलाई ३५ हजारका दरले खर्च लाग्ने इन्जिनियर शाहीले बताउनुभयो ।

अस्थायी आवास ।1700629198.jpg
आठबीसकाेट १४ मा निर्माण गरिएकाे अस्थायी आवास ।

आवास निर्माण गर्दा स्थानीयहरूको पनि सहयोग रहेको उहाँको भनाई छ । दश वटा आवास निर्माण गर्दा लाग्ने सबै खर्च पाँच जनाको व्यक्तिगत सहयोग रहेको छ । स्थानीय कच्चा पदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिम मुक्त र बलियो रहेको उहाँको भनाई छ । आठबीसकोट नगरपालिका १४ का मृतक १३ घरपरिवार मध्ये १ घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दको नेतृत्वको समूहले अस्थायी आवास निर्माण गरिदिएको थियो भने २ घरपरिवारलाई अन्य सहयोगी संस्थाले अस्थायी आवास निर्माण गरिदिएका छन् ।

अन्य तिर पनि अस्थायी आवास निर्माणको काम चलिरहेको छ । सरकारी तवरबाट भने अस्थायी आवास निर्माणको काम सुरु भएको छैन । सरकारले अस्थायी आवासका लागि रुकुम पश्चिमका लागि ५० करोड विनियोजन गरेको छ । यसको कार्यविधि समेत आइसकेको र जिल्लामा क्षतिको विवरण यकिनको काम चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update