रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ मा सञ्चालित भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । परम्परा देखी लाग्दै आएको मेलचौर मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबलका साथै ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो । मङ्सिर २ गते देखि सुरु भएको प्रतियोगिता बुधवार सम्पन्न भएको हो ।
रुकुम पूर्व र पश्चिमका १६ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ३ विजेता भएको छ । फाइनलमा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ लाई पराजित गर्दै बाँफिकोट ३ विजेता भएको हो । विजेता भएको बाँफिकोट ३ ले नगद ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, भने उप विजेता भएको सिस्ने ८ ले नगद ३५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको वडा युवा तथा खेलकुद समितिका अध्यक्ष जयबहादुर मल्लले जानकारी दिनुभयो ।
खेलकुद समितिका अनुसार बाँफिकोट ७ र बाँफिकोट २ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा पुगेका उक्त टिमले समान १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । रुकुम पूर्व र पश्चिमका ९ टिमको सहभागिता रहेको महिला भलिबल तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर २ विजेता भएको छ । फाइनलमा सिस्ने गाउँपालिका वडा नम्बर ८ लाई पराजित गर्दै बाँफिकोट २ विजेता भएको हो ।
विजेता भएको बाँफिकोट २ ले नगद २५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । उप विजेता भएको सिस्ने ८ ले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमिफाइनलमा पुगेका आयोजक र सिस्ने ४ ले समान नगद दश हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । यस्तै ब्याडमिन्टन प्रतियोगितामा कमानसिंह ओली र नवचन्द्र ओलीको जोडी प्रथम भएको छ ।
फाइनलमा कमल दाहाल र कृष्ण शाहको जोडिलाई पराजित गर्दै कमानसिंह ओली र नवचन्द्र ओलीको जोडी प्रथम भएको छ भने कमल दाहाल र कृष्ण शाहको जोडी दोस्रो तथा महेन्द्र पुन र गिरीभान पुनको जोडी तेस्रो भएको छ ।
यस्तै महिला तर्फ दिना पुन र रामकुमारी शाहीको जोडी प्रथम रिता खत्री र दिपा खत्रीको जोडी दोस्रो तथा शारदा चन्द र निर्मला मल्लको जोडी तेस्रो भएको छ । महिला पुरुष ब्याडमिन्टन पुरस्कार राशि समान रहेको छ । प्रथम, दोस्रो, तेस्रोले क्रमशः दश हजार, सात हजार, पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको खेलकुद समितिले जानकारी दिएको छ ।
यस्तै मेलामा झाकी सहित उपस्थित भएको विभिन्न ६ समूहलाई नगद सहित सम्मान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष रत्तबहादुर मल्लले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच खेलकुद सहित मेलाको समापन गरिएको छ ।