Kakhara सबैको खबर सम्पूर्ण खबर
गोतामकोटमा प्रसूति भवन बन्ने 
सम्झाैता पत्रमा हस्ताक्षर पछि ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ४ गोतामकोट स्वास्थ्य चौकीमा प्रसूति भवन निर्माण हुने भएको छ । वान हर्ट र रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित स्थानीय सरकारको साझेदारीमा सञ्चालित मातृ तथा शिशु स्वास्थ्य सुदृढीकरण परियोजना अन्तर्गत प्रसूति गृह बन्न लागेको हो । वान हर्ट वर्ल्ड वाइज र रुकुमेली समाज विकास केन्द्र तथा आबीसकोट नगरपालिका बिच प्रसूति भवन निर्माण गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एक हप्ता भित्रै टेन्डर प्रक्रिया अगाडी बढ्न नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रक्रिया पुर्याउदा प्रसूति भवन निर्माणको काम सुरु गर्न झन्डै डेढ महिना समय लाग्ने देखिएको छ । वान हर्ट वर्ल्ड वाइज तथा रुकुमेली समाज विकास केन्द्रको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा निर्माण भवन हुनेछ । ७८ लाखमा टेन्डर आह्वान गरिने छ । ८ कोठे प्रसूति भवन निर्माण हुने बताइएको छ । 

प्रसूति भवन निर्माणका लागि रुकुमेली समाज विकास केन्द्रका तर्फबाट सचिव केसनकुमार क्षेत्रीयाल र नगरपालिकाको तर्फबाट नगर प्रमुख रबी केसीले हस्ताक्षर गरेको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन असार मसान्तसम्म निर्माण सम्पन्न गरी सक्ने गरी सम्झौता भएको हो । गोतामकोटमा स्वास्थ्य चौकी जीर्ण अवस्थामा रहेकोले प्रसूति सेवा प्रभावकारी बन्न नसकेको अवस्थामा भवन निर्माण हुन लागेको हो । 

भवन निर्माण भएपछि त्यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने अपेक्षा गरिएको छ । यसबाट मातृ तथा शिशु मृत्यु दरमा कमी आउने समेत विश्वास गरिएको छ । कार्तिक १७ गतेको भूकम्पले स्वास्थ्य चौकीमा क्षति गरेपछि हाल टेन्टबाट सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीले जनाएको छ । वान हर्ट र रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित स्थानीय सरकारको साझेदारीमा सञ्चालित मातृ तथा शिशु स्वास्थ्य सुदृढीकरण परियोजना अन्तर्गत त्रिवेणी गाउँपालिकासंगको साझेदारीमा मुरु स्वास्थ्य चौकीमा प्रसूति भवन निर्माणको काम चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update