Kakhara सबैको खबर सम्पूर्ण खबर
यो वर्षको डिग्रे मेला सुरु 
फाइल फाेटाे ।

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु भएको छ । मुसिकोट नगरपालिका, ५– थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा आज हरिबोधिनी एकादशी देखि मेला सुरु भएको हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भए पनि एकादशी देखि नै मेला सुरु हुन्छ । यो वर्ष मङ्सिर ११ गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि आजबाट विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ । 

एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । आज एकादशीका दिन र ११ गते पूर्णिमाको दिन बलि चढाउन नमिल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकार दिनुभयो । तर पूजाआजा भने अन्तिम दिनसम्मै हुन्छ । भोली देखि १० गते चतुर्दशीका दिन सम्म भने बोकाको बलि सँगै पूजाआजा हुने केसीले जानकारी गराउनुभयो । 

डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update