Kakhara सबैको खबर सम्पूर्ण खबर
सीआइएनद्वारा भूकम्प प्रभावित रेडियोहरूलाई सहयोग 

कार्तिक १७ गत्ते राती जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लाका सञ्चार गृहमा पनि क्षति गरेको थियो । रुकुम पश्चिमको रेडियो समावेशी आवाज र रेडियो सानीभेरी एफ. एम., जाजरकोटको रेडियो नलगाड, हाम्रो पाइला र  रेडियो खलङ्गाको प्रसारण भवन, टावर र प्राविधिक उपकरणहरूमा ठुलो क्षति पुगेको छ । 

रेडियो नलगाड बाहेक अन्य सबै रेडियो पालमुनिबाट सञ्चालनमा छन् । क्षतिग्रस्त अवस्थामा पनि निरन्तर प्रसारणमा रहेका रेडियोलाई सामुदायिक सूचना नेटवर्क (सीआइएन)ले विभिन्न सहयोग गरेको छ । टेन्टबाट प्रसारणमा रहेको रेडियो समावेशी आवाज रुकुम पश्चिमलाई सीआइएनको पहलमा युनेस्कोको र अन्य निकायको सहयोगमा राहत सामग्री हस्तान्तरण गरिएको छ ।    

आज रेडियोको प्रसारण स्थल त्रिवेणी ६ झुल्नेटामा पुगी  मिक्चर र ल्यापटप एक एक थान तथा हेडफोन दुई थान उपलब्ध गराएको सीआइनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले जानकारी दिनुभयो । रेडियो समावेशीसँगै भूकम्पबाट अति प्रभावित रुकुम पश्चिम र जाजरकोटका अन्य चार वटा रेडियोहरूलाई पनि उपकरण प्रदान गरिने उहाँले बताउनुभयो । 

भूकम्पबाट प्रभावित रेडियो स्टेसनलाई थोरै भए पनि राहत होस भनेर उपकरण सहयोग गरिएको उहाँको भनाई  । उपकरण हस्तान्तरण गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले महाविपत्तिको बेला रेडियोले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । आफू खतरामा हुँदा हुँदै पनि रेडियो स्टेसनले सूचना प्रवाहमा पुर्‍याएको योगदानको सबैले सम्मान गर्नुपर्ने उहाँको भनाई छ । 

भूकम्प आएको भोलीपल्ट देखि नै रेडियोमा पुगेको क्षतिको विवरण सङ्कलन तथा राहतका लागि अकोराबले पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । ‘रेडियोकर्मी देखि सञ्चालकहरू आफै पनि समस्यामा हुनुहुन्छ, पीडाकै बिचबाट पनि सूचना प्रवाहको दायित्वबाट पन्छिनु भएको छैन, यो निकै सह्रानीय हो,’ उहाँले भन्नुभयो । 

टेन्नमुनि रहेका रेडियोलाई स्थायी रूपमा सञ्चालनका लागि पहल गरिरहेको उहाँको भनाई छ । सामग्री हस्तान्तरण कार्यक्रममा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउले खड्का र प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, वडा अध्यक्षहरू दीपेन्द्रकुमार ओली र भद्र बहादुर सिर्पाली लगायतको पनि आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update