रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ को राडीबाट नेपालगन्ज तर्फ गइरहेको ना ३ ख ५२०७ नम्बरको बसमा सवार सोही वडाका ३८ वर्षीय गणेश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बसबाट झर्ने क्रममा दमाईलाई बसले ठक्कर दिएको प्रहरीको भनाई छ । परियारलाई नगर अस्पताल राडीमा पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी गराएको छ ।
दमाईसँगै बसबाट झर्ने क्रममा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा वडा नम्बर १४ की १९ बर्सिया भावना चन्द र वडा नम्बर १४ कै १९ वर्षीय राजेन्द्र पोख्रेल रहेको प्रहरीको भनाई छ । भावनाको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य तथा राजेन्द्रको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । प्रहरीका अनुसार दुवै जनाको नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।
उक्त बसमाथि वडा नम्बर ११ कै रिठा भन्ने ठाउँमा स्थानीयले रोकी तोडफोड समेत गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बसको अगाडी र साइडको सिसा स्थानीयले फुटाएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय राडीको टोली खटिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराउनुभयो ।