नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएल रुकुम पूर्वको जिल्ला सम्मेलनको मिति तय भएको छ । तकसेरामा बसेको बैठकले २०७८ को वैशाख २९ र ३० गते रुकुमकोटमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले तिलक रेउले भाष्करको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न उप समिति समेत गठन गरिएको छ । सम्मेलनका लागि प्रचार प्रसार, प्रसार, अतिथि व्यवस्थापन, समग्र सम्मेलन व्यवस्थापन तथा आर्थिक उप समिति बनाइएको छ ।
अतिथि व्यवस्थापन र प्रचार प्रसार व्यवस्थापन उप समितिको संयोजकमा केवेन्द्र गौतम, सम्मेलन व्यवस्थापन उपसमितिमा विरु पुन मगर र आर्थिक उप समितिको संयोजकमा रविन सुनारलाई चयन गरिएको छ । बैठकले तीन वटा पालिकाको लागि वाइसीएलको संयोजक पनि चयन गरेको छ ।
पुथाउत्तरगंगामा विक्रम पुन मगर, भूमे गाउँपालिका अनिल रोका मगर र सिस्ने गाउँपालिकामा विर्ख रोकायलाई संयोजक तोकेर कामकाज गर्न भनिएको मुल आयोजक समिति संयोजक भास्करले बताउनुभयो । एमाले निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य प्रेम सुनारलाई वाइसीएलमा समाहित गरिएको विशेष जिम्मेवारी पनि दिइएको उहाँले जानकारी दिनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष मेघबहादुर श्रेष्ठ, वाइसीएल रुकुम पूर्वका इन्चार्ज सुनिल रोका लगायतको पनि उपस्थिति रहेको थियो ।