Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमको सबै कमिटी र जबस स्वयंसेवक दलमा परिणत 

भूकम्प प्रभावित क्षेत्रमा परिचालनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका सबै कमिटी र जनवर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गरेको छ । शुक्रवार बसेको पार्टीको जिल्ला कमिटी बैठकले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्नका लागि यस्तो निर्णय गरेको हो ।  

अस्थायी आवास निर्माणको लागि जिल्लाको सबै तहका पार्टी कमिटी र जनवर्गीय सङ्गठनहरूलाई एक महिनाका लागि स्वयंसेवक दलमा परिणत गर्ने र यसको नेतृत्व प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरले गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकले हाल त्रिपालमुनि बसिरहेका भूकम्प प्रभावितलाई एक महिनाभित्र अस्थायी आवासमा सार्ने, लाभग्राही पहिचान र सूचीकरणको काम युद्ध स्तरमा अघि बढाउने तथा लाभग्राही सूचीकरणको काम अझै सहज तुल्याउने गरी कार्यविधि संशोधनको लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले अस्थायी आवास निर्माण लगत्तै पुनर्निर्माणको पक्रिया सुरुवातका लागि पहल गर्ने समेत निर्णय गरेको छ । आज देखि नै पार्टी अस्थायी आवास निर्माणमा खटिएको संयोजक रोकाले बताउनुभयो । 

भूकम्प गएदेखि नै उद्धार, राहत तथा अस्थायी आवासमा सक्रिय रहे पनि निर्णय नै गरेर सिङ्गो पार्टी पङ्क्ति आजबाट होमिएको उहाँको भनाई छ । जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा अन्य राजनीतिक दलले समेत कार्यकर्ता परिचालन गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update