रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ केसी र नवराज मल्लको जोडी पहिलो भएको छ । वडा नम्बर ९ को राडीमा जारी २९ औँ चौतारा मेलाको अवसरमा आयोजित ब्याडमिन्टनको आज भएको फाइनलमा दाङको हिमांशु र सनौला अहमदको जोडीलाई पराजित गर्दै आठबीसकोटको सिद्धार्थ र नवराजको जोडी पहिलो भएको हो । प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
चौतारा मेला आयोजक समितिका अध्यक्ष मिलन परियारका अनुसार मुसिकोटको ईश्वर रावल र कवीन्द्र पुन मगर तथा जाजरकोट नलगाडको नारायण खत्री र नारायण बाबु नाथको जोडीले सान्त्वना स्थान हात पारेको छ । पहिलो हुने जोडीले ७० हजार र ट्रफि, दोस्रो हुनेले ४० हजार नगद र कप तथा सान्त्वना हुने दुई जोडीले समान २०/२० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
सबै खेलाडीलाई मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको बताइएको छ । पुरस्कार मेला समापनको दिन वितरण गरिने आयोजकको भनाई छ । ब्याडमिन्टन वडा नम्बर ११ को सिमबजारस्थित कबर्डहलमा सञ्चालन भएको थियो । मेलाका अवसरमा महिला पुरुष भलिबल लगायतका खेलकुद जारी रहेका छन् ।