Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम: भूकम्पबाट ज्यान गुमाएका सबै परिवारले पाए नगद राहत रकम 
मृतकका परिवारलाई नगद राहत वितरण गरिदै ।

कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएको छ । ४७ जनाका मृतकका परिवारले यस अघि नै नगद राहत रकम प्राप्त गरे पनि कागजात मिलाउन बाकी रहेका ७ जना मृतकका परिवारले नगद राहत रकम पाउन सकेका थिएनन् । कागजात मिलाउने प्रक्रिया पुरा भएपछि भने अव जिल्लामा मृतकका सबै परिवारले नगद राहत प्राप्त गरेका हुन् ।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३७ मृतकका २४ घरपरिवारलाई ६१ लाख, चौरजहारी नगरपालिकाका एक जना मृतकका परिवारलाई दुई लाख, रोल्पा र बर्दियाका एक एक जना मृतक परिवारलाई ४ लाख गरेर जम्मा ८३ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो । सराकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई २ लाखका दरले नगद राहत रकम दिएको र एकै घरबाट एक जना भन्दा बढी मृत्यु भएकाको हकमा एक जनाको दुई लाख र बाँकीको प्रति मृतक १ लाख थपेर राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा ५ करोड रकम पठाएको थियो । जसमा ८३ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रहेको रकम भूकम्प प्रभावितका लागि अस्थायी आवास तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

गत कात्तिक १७ गते राती गएको भूकम्पमा परी रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो । त्यसमा ५ जना जिल्ला बाहिरका रहेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update