रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । मङ्सिर ७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला आज सकिएको हो । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लागेको छ । यो वर्ष एकादशी देखि आजसम्म करिब १ लाख दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
एकादशी देखि आजसम्म मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका जिल्लाबाट दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ ।
डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षका पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । यी पाँच दिनमा विशेष महत्वका साथ पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ ।
मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
यसैबिच मेलाको अवसरमा आज मुसिकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । नगरपालिका, नगरपालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ ।
फाेटाेहरु: मनिष खड्का/कखरा ।