रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ साँखमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा कबिन्द्र पुन र हेमन्त रोकाको जोडि पहिलो भएको छ । आज भएको फाईनल खेलमा मुसीकोटको अनिल बुढा र डम्बर थापाको जोडिलाई २-१ काे सेटमा पराजित गर्दै सानीभेरीको कबिन्द्र र हेमन्तको जोडि पहिलो भएको हो ।
प्रतियोगितामा मुसीकोटको नरेन्द्र बोहरा र ज्वालासिंह खड्का तथा विशाल बिष्ट र अविनाश केसीको जोडि शान्त्वना भएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँका २४ जोडिले प्रतिस्पर्धा गरेका थिए । साँखमा भर्खरै स्थापना भएको मुसीकोट युथ क्लवले क्लव स्थापना तथा नयाँ वर्षको अवसर पारी खुला ब्याडमिन्टन र भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
ब्याडमिन्टनमा पहिलो स्थान हाँसिल गर्ने जोडिले नगद २१ हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उप विजेताले १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ब्याडमिन्टनमा सेमिफाईनल प्रवेश गर्ने २ जोडिलाई समान ३ हजार १ सय रुपैंयाले पुरस्कृत गरिएको आयोजक मुसीकोट युथ क्लवका अध्यक्ष देविलाल विकले बताउनुभयो ।
त्यस्तै भलिबल प्रतियोगिता भने जारी छ । भलिबलको फाईनल खेल भोली हुने आयोजकको भनाई छ । भलिबलको विजेताले नगद ६२ हजार र उप विजेताले नगद ३३ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान हात पार्नेले १८ हजार तथा शान्त्वना हुने टिमले ७ हजार पुरस्कार पाउने बताईएको छ ।