Kakhara सबैको खबर सम्पूर्ण खबर

 

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन हजार बढी स्वयंसेवक परिचालन गरेको छ । पार्टीका सबै कमिटी र जनबर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गर्ने निर्णय गरेको माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा तीन हजार ८७ जना स्वयंसेवक परिचालन गरेको छ । यस बाहेक जिल्ला बाहिरबाट आइरहेको स्वयंसेवकहरू पनि रहेका छन् । 

DSC050271701170551.jpg

आज जिल्लाका तीन वटा भूकम्प प्रभावित पालिका आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माण अभियानको सुरुवात भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । जिल्लामा पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा अस्थायी आवास निर्माण अभियान सुरु भएको हो । आफू तीन वटै पालिकामा खटिने टिम लिडर तथा प्रतिनिधि सभा सदस्य शर्माले बताउनुभयो । 

DSC050391701170575.jpg

उहाँले आज सानीभेरी गाउँपालिका वडा नम्बर ४ को मेघा बलिबाङबाट अभियानको सुरुवात गर्नुभयो । पहिलो चरणमा आफू तीन–तीन दिनका दरले नौ दिन अस्थायी आवास निर्माण अभियानमा खटिने उहाँको भनाई छ । आजबाट तीन दिन सानीभेरी गाउँपालिका, त्यसपछि आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माणमा खटिने शर्माले बताउनुभयो । उहाँले आज बलिबाङका विभिन्न टोलमा काम गर्नुभएको छ । आज पहिलो दिन भत्किएका घर हटाउने काम भएको उहाँले बताउनुभयो । 

DSC050331701170603.jpg

अस्थायी आवासका लागि काठको समस्या भएकोले भूकम्पले बस्न नमिल्ने भएका घरलाई भत्काएर खाली गर्ने र काठ, ढुङ्गा लगायतका सामग्री निकाल्ने कामबाट अस्थायी आवास निर्माणको अभियान थालिएको उहाँले जानकारी गराउनुभयो । उहाँले कार्यकर्ताहरूलाई छिटोभन्दा छिटो धेरै अस्थायी आवास निर्माण गर्न निर्देशन दिनुभएको छ । मौसम बदली भइरहेकोले छिटो भन्दा छिटो धेरै भन्दा धेरै आवास निर्माणको आवश्यकता रहेको बताउँदै उहाँले क्षति नभएका जिल्लाका सबै वडाबाट प्रतिवडा कम्तीमा २० जना स्वयंसेवक माग गरिएको बताउनुभयो । 

DSC050431701170638.jpg

प्रभावितको जग्गा भएको अवस्थामा सुरक्षित ठाउँको पहिचान गरी आवास निर्माण गरिने र जग्गा नभएको अवस्थामा भत्किएकै घरलाई हटाएर आवास निर्माण गरिने उहाँको भनाई छ । यो अभियानमा जोडिन उहाँले जिल्लास्थित राजनीतिक दल तथा जिल्ला बाहिरबाट आएका स्वयंसेवक टिमलाई समेत आग्रह गर्नुभयो । सानीभेरीमो नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा टोली परिचालित छ । त्यहाँ प्युठानबाट अखिल क्रान्तिकारी र वाइसीयलको टोली समेत आएको छ ।

DSC050461701170673.jpg

जिल्ला भरका सबै पाल हटाउने लक्षका साथ अभियानको थालनी गरिएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । जिल्ला कमिटीले एक महिना भित्रमा अस्थायी आवासको व्यवस्थापन गर्ने निर्णय गरेकोले सोही अनुसार अस्थायी आवास निर्माणको अभियान थालिएको उहाँले बताउनुभयो । साथै अस्थायी आवासका लागि सरकारी राहत प्राप्त गर्ने लाभग्राही सूचिकृत गर्ने काममा पनि पार्टीले सहजीकरणको काम गरिरहेको उहाँको भनाई छ ।

DSC050491701170674.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update