वान हर्ट वर्ल्ड वाइड र रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित स्थानीय सरकारसँगको साझेदारीमा मातृ, नवशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको जिल्ला परियोजना सल्लाहकार बैठक मुसिकोटमा बसेको छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर बिकको अध्यक्षतामा भएको बैठकमा परियोजनाले सन् २०२३ मा जिल्लामा सञ्चालन गरिएका क्रियाकलाप र खर्च भएको रकमका बारेमा जानकारी गराइएको थियो ।
परियोजनाले यो वर्ष प्रसूति भवन निर्माण, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम, स्वास्थ्य सेवा कार्यालयमा आवश्यक पर्ने अत्यावश्यक उपकरण तथा औजार सामग्री सहयोग गरेको परियोजना संयोजक मदन खड्काले जानकारी गराउनुभएको थियो । त्यस्तै परियोजनाले १७ कार्तिकको भूकम्प प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवालाई सञ्चालनका लागि टेन्ट लगायतका सामग्री उपलब्ध गराएको उहाँको भनाई छ ।
परियोजना अन्तर्गत ७२ लाख बजेट खर्च भएको बैठकमा जानकारी गराइएको छ । बैठकमा जिल्लास्थित कार्यालयका प्रमुख तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लामा मातृ तथा शिशु मृत्यु दरलाई कम गर्नको निम्ति नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको वान हर्ट वर्ल्ड वाइडका जिल्ला कार्यक्रम संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । सन् २०२२ बाट सुरु भएको परियोजना सन् २०२७ सम्म सञ्चालन हुने छ ।