Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका एक हजार १४ भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा 

रुकुम पश्चिमका तीन वटा स्थानीय तहमा अस्थायी आवास निर्माणका लागि साढे दुई करोड रकम निकासा भएको छ । मङ्गलवार त्रिवेणी गाउँपालिकाको लागि रकम निकासा गरेको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले आज दुई वटा पालिकाको लागि रकम निकासा गरेको हो । आज सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता निकासा भएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० (दोस्रो संशोधन समेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा रकम पठाइएको हो ।

मङ्गलवार त्रिवेणी गाउँपालिकामा ६४ जना लाभग्राहीको लागि १६ लाख रकम पहिलो किस्ता बापत पठाइएको थियो । आज आठबीसकोट नगरपालिकाका पाँच सय लाभग्राहीलाई पहिलो किस्ता बापत एक करोड २५ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न एक करोड १२ लाख ५० हजार रकम पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भई जिल्लामा सिफारिस भएका लाभग्राहीलाई पहिलो किस्ता बापत प्रतिपरिवार २५ हजारका दरले रकम स्थानीय तहमा पठाइएको हो । स्थानीय तहबाट लाभग्राहीको पहिचान भई आएमा जिल्लाबाट धमाधम पहिलो किस्ता बापतको रकम पठाउने प्रबन्ध मिलाइएको बताइएको छ । 

पहिलो किस्ता बापतको रकम निकासा भएका पालिकाबाट पनि पूर्ण विवरण आइसकेको छैन । हालसम्म लाभग्राहीको पहिचान भएर आएका तिन स्थानीय तहका एक हजार १४ लाभग्राहीको लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।

भूकम्पबाट घर क्षति भएकालाई सरकारले अस्थायी आवास निर्माणको लागि दुई चरणमा गरेर ५० हजार नगद राहत उपलब्ध बनाउने निर्णय गरिसकेको छ । जसका लागि सङ्घीय सरकारले जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ५० करोड रकम पठाएको छ । गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पले मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update