
नेकपा माओवादी केन्द्र रुकुम पूर्वकाे जिल्ला स्तरीय आधारभूत स्कुलिङ प्रशिक्षण कार्यक्रम पुथा क्षेत्रमा सम्पन्न भएको छ । पुथाउत्तरगंगा गाउँपालिका ५ हुकामलाई केन्द्र मानेर उपल्लो पुथा क्षेत्रमा २ दिनसम्म चलाइएको स्कुलिङ सम्पन्न भएको जनाइएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा पुथा र उत्तरगंगा क्षेत्र बनाई २ चरणमा स्कुलिङ चलाइएको छ । जसअन्तर्गत पुथा क्षेत्रको स्कुलिङ मङ्सिर १२ र १३ गते हुकाममा सम्पन्न भएको छ भने १४ र १५ गते उत्तरगंगा क्षेत्रमा १२ नम्बर वडाको काेलमा स्कुलिङ सञ्चालन हुने नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभएको छ ।
काेलमा गाउँपालिकाका ७, ८, १०, ११, १२, १३ र १४ नम्बर वडाका नेता कार्यकर्तालाई लक्षित गरिएको छ । आज दोस्रो दिन हुकाममा राजबहादुर बुढा (अविनाश) ले कम्युनिस्ट पार्टी र सङ्गठनात्मक सिद्धान्तको विषयमा स्कुलिङ दिनुभएको थियो । यसै गरी दुर्गा गौतम (मानध्वज) ले दर्शन शास्त्र र मार्क्सवादी राजनीतिक अर्थशास्त्र, सांस्कृतिक रुपान्तरणकाे विषयमा कुमारी बराल गौतम (बिपना) र सङ्घीयता समावेशी तथा जातीय सवालकाे विषयमा पुनिराज घर्ती (रामेश) ले प्रशिक्षण दिएको माओवादी केन्द्रले जनाएको छ ।
भोली उत्तरगंगा क्षेत्र काेलमा पनि कमला रोका (क्रान्ति) को प्रशिक्षनात्मक मन्तव्यसँगै स्कुलिङका लागि राजबहादुर बुढा (अविनाश), पुनिराज घर्ती (रामेश), कुमारी बराल गौतम (विपना) र दुर्गा गौतम (मानध्वज) खटिनुहुने छ । यसअघि जिल्लाकै भूमे गाउँपालिकामा पनि स्कुलिङ सम्पन्न भैसकेको छ भने मङ्सिर १९ र २० गते सिस्ने गाउँपालिकाका लागि रुकुमकाेटमा स्कुलिङ कार्यक्रम तोकिएको छ । पालिकामा स्कुलिङबाट प्रशिक्षित भएका टोलीले वडा र टोल स्तरमा स्कुलिङ चलाउने कार्यसूची बनेको नेकपा माओवादी केन्द्र रुकुम पूर्व जिल्ला प्रचार विभागले जनाएको छ ।