Kakhara सबैको खबर सम्पूर्ण खबर
काँग्रेसले रुकुम पश्चिममा पाँच वटा अस्थायी आवास हस्तान्तरण गर्‍यो
अस्थायी आवास निर्माण गर्दै काँग्रेसका नेता कार्यकर्ता ।

नेपाली काँग्रेसले रुकुम पश्चिममा पाँच वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिएका पाँच वटा घर काँग्रेसले सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो । सानीभेरी गाउँपालिका वडा नम्बर ४ पुरानो गाउँ र खालचौरमा निर्माण भएका अस्थायी आवास पार्टीले प्रभावित परिवारलाई हस्तान्तरण गरेकाे जनाएको छ । 

पार्टीका केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको प्राविधिक सहितको स्वयंसेवक टोलीले पहिलो चरणमा पाँच वटा अस्थायी आवास निर्माण गरेको हो । नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीका अनुसार सानीभेरी गाउँपालिका वडा नम्बर ४ का बालदेवी मल्ल, गौनी बिक, झुपलाल बिक, टोपेन्द्र मल्ल र कर्णे कामीको अस्थायी आवास निर्माण गरिएको हो ।

भूकम्पले घर भत्किएर पालमुनि बसिरहेका विपन्न परिवारलाई छनौट गरी अस्थायी आवास निर्माण गरिदिएको ओलीले बताउनुभयो । पहिलो चरणमा पाँच वटा अस्थायी आवास निर्माण गरेको काँग्रेसले दोस्रो चरणमा सानीभेरी गाउँपालिकाकै वडा नम्बर १ र २ मा थप पाँच वटा आवास निर्माणको काम आजबाट सुरु गर्ने टिम लिडर गुरु बरालले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update