Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अस्थायी आवासका लागि आज एकै दिन झन्डै १९ करोड स्थानीय तहमा पठाइयो 

भूकम्पले घर भत्किएका परिवारलाई अस्थायी आवासका लागि रुकुम पश्चिममा आज एकै दिन झन्डै १९ करोड रुपैयाँ स्थानीय तहमा पठाइएको छ । पहिलो किस्ता बापत प्रति परिवार २५ हजारका दरले जिल्लाका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाका लागि १८ करोड ९२ लाख ७५ हजार पठाइएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ । 

आज एकै दिन आठबीसकोट नगरपालिकाका चार हजार, चौरजहारी नगरपालिकाका दुई हजार पाँच सय ११ र त्रिवेणी गाउँपालिकाका एक हजार ६० लाभग्राहीका लागि पहिलो किस्ता पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा बढी आठबिसकोटमा दश करोड, चौरजहारीमा ६ करोड २७ लाख ७५ हजार र त्रिवेणी गाउँपालिकामा दुई करोड ६५ लाख रकम गएको छ । 

आजको सहित अहिलेसम्म २१ करोड ४६ लाख २५ हजार रुपैयाँ स्थानीय तहमा गइसकेको छ । अहिलेसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा चार हजार पाँच सय परिवारका लागि ११ करोड २५ लाख, चौरजहारी नगरपालिकामा दुई हजार पाँच सय ११ परिवारका लागि ६ करोड २५ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा एक हजार एक सय २४ परिवारका लागि दुई करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० परिवारका लागि एक करोड १२ लाख ५० हजार पहिलो किस्ता बापत गएको बुढुवालको भनाई छ । 

तीन दिनमा जिल्ला भरमा गरेर आठ हजार पाँच सय ८५ लाभग्राहीलाई जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट पहिलाे किस्ता स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा गएको छ । स्थानीय तहले लाभग्राही यकिन गरेर जिल्लामा पठाइरहेका छन् भने त्यसका आधारमा जिल्लाबाट धमाधम पहिलो किस्ता स्थानीय तहमा गइरहेको छ । 

स्थानीय तहले कोषमा आएको रकम धमाधम वितरण गरिरहेको बताएका छन् । त्रिवेणी गाउँपालिकाका हिजो ६४ परिवारलाई पहिलो किस्ता वितरण गरेको थियो । अन्य पालिकाले पनि पहिलो किस्ता दिन सुरु गरिसकेको जनाएको छन् ।

यसअघि एकै दिनमा स्थानीय तहमा गएकाे अनुदान १८ कराेड ९२ लाख ७५ हजार हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ- सम्पादक 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update