Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीका ६ सय ७५ बालबालिकालाई सीए संघको न्यानो कपडा 

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स (सीए) सङ्घले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का भूकम्प प्रभावित ६ सय ७५ जना विद्यार्थीहरूलाई न्यानो कपडा स्विटर प्रदान गरेको छ । सङ्घका अध्यक्ष सी.ए. दीपक पाण्डे र केन्द्रीय सदस्य सी.ए. पृथ्वी पुन मगरले एक कार्यक्रमका बिच बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो । 

वितरण कार्यक्रम साधारण माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा त्रिबेनी गाउँपालिका अध्यक्ष गणेश के.सी.  ७ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, वडा सदस्यहरू, ६ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू तथा शिक्षक शिक्षिकाहरूको उपस्थित रहेको थियो । 

कार्यक्रममा सी.ए. सङ्घका अध्यक्ष पाण्डेले रुकुम जाजरकोटको पीडामा मलहम लगाउन सङ्घ आइपुगेको र भविष्यमा पनि यस्ता खाले सहयोग आवश्यक भएमा सहयोगका लागि तयार रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष केसीले बालबालिकालाई न्यानो कपडा सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिनुभयो । 

बालबालिकालाई न्यानो कपडाका लागि सङ्घका उपत्यका प्रदेश कमिटी प्रमुख सी.ए. टिका कार्कीको टोलीले सङ्घका सदस्यहरूबाट सहयोग सङ्कलन गरेको सङ्घले जनाएको छ । शिक्षक पूर्णबहादुर खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक धनबहादुर खड्काले गर्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भिमबहादुर बुढाथोकीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update