Kakhara सबैको खबर सम्पूर्ण खबर
एमालेद्वारा रुकुम पश्चिममा दुई सय १५ अस्थायी आवास निर्माण 
अस्थायी आवास निर्माणमा एमाले नेता कार्यकर्ता ।

नेकपा एमालेले रुकुम पश्चिममा भूकम्पपीडितका दुई सय १५ अस्थायी आवास निर्माण गरेको छ । गत मङ्सिर ५ गते देखी हालसम्ममा भूकम्प प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा ३ सय स्वयंसेवक परिचालन गरेको एमालेले ४ स्थानीय तहमा गरेर दुई सय १५ अस्थायी आवास निर्माण गरेको जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट दुई सय ५० जना एमालेलेका स्वयंसेवक र जिल्लाका ५० जना गरेर तीन सय जना स्वयंसेवक अस्थायी आवास निर्माणको लागि परिचालन भएको पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ टिम मध्ये सात वटा टिम आठबीसकोट नगरपालिकामा, तीन टिम सानीभेरी गाउँपालिकामा, दुई टिम चौरजहारी नगरपालिकामा र एक टिम बाँफिकोट गाउँपालिकामा परिचालन भएको छ । परिचालन भएको समूहले आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा ३३, वडा नम्बर १२ मा ३८ र १४ नम्बर वडामा ३८ वटा गरेर एक सय ९ वटा अस्थायी आवास निर्माण गरेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा १५, ११ मा ८ र १ नम्बर वडामा १९ गरेर ४२ अस्थायी आवास निर्माण गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर १०, ११, १२, १३ र १४ मा गरेर ५१ र बाँफिकोटमा गाउँपालिकामा आठ वटा गरेर जिल्लाभर जम्मा दुई सय १५ वटा अस्थायी आवास निर्माण गरिएको एमालेले जनाएको छ । निर्माण गरिएका अस्थायी आवास मध्ये केहीमा जस्तापाता प्रयोग गरिएको छ भने केहीमा तत्कालको लागि त्रिपालनै प्रयोग भएको र पछि जस्तापाता प्रयोग गर्ने गरी तयार पारिएको अध्यक्ष देवकोटाको भनाई छ । क्षतिग्रस्त घरमै रहेका सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको बताइएको छ । आवासका लागि पार्टीले जस्तापाता खरिद भने गरेको छैन । 

त्यस्तै २६ वटा अस्थायी सिकाई केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरेको एमालेले जनाएको छ । हालसम्म एक सय ६२ वटा भग्नावशेष व्यवस्थापन गरिएको पार्टीले जनाएको छ । जिल्ला बाहिरबाट आएको स्वयंसेवक टोली १९ गतेसम्म प्रभावित क्षेत्रमा खटिने पार्टीले बताएको छ । त्यस पश्चात् भने भूकम्प प्रभावित क्षेत्रमा जिल्लाको टोलीले मात्र अस्थायी आवास तथा पुनर्निर्माणको काम गर्ने जिल्ला अध्यक्ष देवकोटाको भनाई छ । यसका साथै पार्टीले औषधि सहितको स्वास्थ्यकर्मीको टोलीले तीन सय ५० जनालाई सेवा दिएको समेत जानकारी गराएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update