Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावितलाई लक्षित गरी आठबिसकोट र सानीभेरीमा बृहत् स्वास्थ्य शिविर 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भूकम्प प्रभावितलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सी.बि.एम ग्लोबलको आर्थिक सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल र आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो । आठबिसकोटमा मङ्सिर १२ तथा सानीभेरीमा मङ्सिर १३ गते शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा हाड जोर्नी, सामान्य फिजिसियन, स्त्री रोग, मानसिक तथा मनोसामाजिक, फिजियोथेरापी, कृत्रिम अङ्ग र अर्थोपेडिक सहायक सामग्री सहितको सेवा दिइएको थियो । त्यस्तै आवश्यक औषधी समेत वितरण गरिएको सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नौ सय ४५ जनाले स्वास्थ्य जाँच तथा औषधी उपचार सेवा लिएका छन् ।

१५ पुरुष, ४९ महिला, २ बालक र ४ बालिका गरी ७० जनाले मानसिक स्वास्थ्य सेवा लिएको शाहीको भनाई छ । मानसिक चिकित्सक डा.दिपेश भट्टराई, मनोविद् अञ्जन ढकाल र लक्ष्मण नाथले सेवा दिनुभएको थियो । शिविरमा सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाही र अन्य शिक्षकहरूको पनि सहभागिता भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update