राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले १७ कार्तिकमा गएको भूकम्पमा परी जिल्लामा ज्यान गुमाएका परिवारलाई बिमा रकम उपलब्ध गराउन माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले भूकम्पबाट ज्यान गुमाएका सबै ५३ जना मृतकका परिवारलाई बिमा रकमको माग गरेको हो । उसले कर्णाली प्रदेश सरकारले कर्णालीका सबै नागरिकका लागि २ लाखको प्राकृतिक विपत् बिमा गरिदिएको र भूकम्पबाट ज्यान गुमाएका परिवारलाई उक्त बिमा रकम उपलब्ध गराउन भनेको छ ।
अहिलेसम्म कुनै पनि मृतकका परिवारले बिमा बापतको रकम नपाएको भन्दै रास्वपाले आज विज्ञप्ति मार्फत यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको हो । कर्णाली प्रदेशका जनताका लागि प्रदेश सरकारले विगतमा राष्ट्रिय बिमा कम्पनीसँग प्रति व्यक्ति दुई लाख लाखको प्राकृतिक विपत् बिमा गरेकोमा भूकम्प गएको एक महिना बितिसक्दा पनि रुकुम पश्चिमका मृतक परिवारका हकवालाले प्राप्त गर्नुपर्ने एक करोड ६ लाख बिमा बापतको रकम कसैले पनि नपाएकोले उक्त रकम तत्काल कागजी प्रक्रिया सम्पन्न गरी उपलब्ध गराउन अनुरोध छ, विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले यसबारेमा राष्ट्रिय बिमा कम्पनी, जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सम्बन्धित सबै पालिका तथा वडा सरकारहरूको ध्यानाकर्षण समेत गराएको छ । कर्णाली प्रदेश सरकारले २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बिमा कार्यक्रम सुरु गरेको थियो ।