Kakhara सबैको खबर सम्पूर्ण खबर
बा, बोझ भयो की

    सञ्जय राेकाय

जिम्मेवारी सारा परिवारको बोझ धेरै छ 
हुर्काउँदा मलाई कठिन भयो होला बुझ्छु म
प्रचण्ड घामको ताप कस्तो हुन्छ महसुस गर्न सक्छु म
पुस माघको त्यो कठ्याङ्ग्रिने चिसो महसुस गर्न सक्छु म ।

आर्जन भन्दा धेरै आवश्यकता हुँदा 
पीडा मनमा परिवार असन्तोष हुँदा 
सजिलो त थिएन बा, पीडा लुकाई मुस्कुराउन 
बा हजुरलाई बोझ भयो की ।

म वर पिपल हजुरको, रोप्नु भयो जमिनमा
गोडमेल गर्न, मलजल गर्न अलि बोझ भयो कि 
आउनुहोस् बिसाउनुहोस् त्यो बोझको भारी म चौतारी बनेको छु 
पिँजडामा बन्द भएका तपाईँका सपना उडाउने हवाईजहाज बनेको छु ।

दिनुहोस् त्यो बोझको भारी अब मलाई भरिया बनेको छु
सुम्पिनुहोस् तपाईँको सारा पीडा अब मलाई 
थाम्न नसकिने बोझ भयो कि तपाईँलाई यो सबै 
सुम्पिनुहोस् तपाईँको सारा पीडा अब मलाई

हिँड्न कठिन हुन्छ कि बा त्यो बोझसँग 
बुढेसकालको लट्ठी होइन खुट्टा बनी म हिँड्ने छु
महान् हजुर, हजुरको आड भरोसा बन्ने छु
दिनुहोस् त्यो बोझको भारी अब मलाई भरिया बनेको छु ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update