Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १४ हजार बढी अस्थायी आवास निर्माण गर्न झन्डै साढे ३६ करोड रकम निकासा 

रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न चार स्थानीय तहका १४ हजार भन्दा बढी लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको छ । तीन दिन भित्रमा चार स्थानीय तहका १४ हजार दुई सय २४ लाभग्राहीलाई पहिलो किस्ता बापतको २५ हजारका दरले रकम स्थानीय तहमा पठाइएको हो । अस्थायी आवास अनुदान कार्यविधि, २०८० (दोस्रो संशोधन समेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भई स्वीकृति भएर आएका लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम स्थानीय तहमा पठाइएको जिल्ला विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थायी आवास निर्माण गर्न आठबीसकोट नगरपालिकाका साढे चार हजार लाभग्राहीलाई पहिलो किस्ता बापतको २५ हजारका दरले ११ करोड २५ लाख रकम पठाइएको छ । त्यस्तै चौरजहारी नगरपालिकाका ६ हजार सात सय ६९ लाभग्राहीलाई १५ करोड ६९ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा एक हजार एक सय २४ लाभग्राहीको लागि दुई करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१ लाभग्राहीको लागि पाँच करोड २५ लाख २५ हजार रकम पठाइएकाे छ ।

हालसम्म रुकुम पश्चिममा ३६ करोड ४३ लाख ७५ हजार रकम अस्थायी आवास निर्माण गर्न स्थानीय विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाएको प्रजिअ पन्तले जानकारी दिनुभयो । स्थानीय तहबाट अस्थायी आवास निर्माण गर्नुपर्ने पूर्ण विवरण भने अझै आइसकेको छैन । स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भई आएका लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाएको र थप विवरण आउने कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

भूकम्पबाट घर क्षति भएकालाई सरकारले अस्थायी आवास निर्माणको लागि दुई चरणमा गरेर ५० हजार नगद राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसका लागि अस्थायी आवास निर्माण गर्न सङ्घीय सरकारले जिल्ला विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ५० करोड रकम पठाएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update