रुकुम पश्चिमको सानीभेरी गाउँपालिकालाई कलाकर्मीहरूको समूहले राहत सामग्री उपलब्ध बनाएको छ । कास्की पोखराबाट आएको कलाकर्मीहरूको समूहले गाउँपालिकामै पुगेर भूकम्प प्रभावितहरूका लागि राहत सामग्री उपलब्ध बनाएको हो । पाँच लाख बराबरको राहत सामग्री सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीलाई हस्तान्तरण गरिएको द मव डान्स एन्ड फिटनेस स्टुडियो पोखराका संयोजक सौगात रत्नले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिसो समयमा पीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा ब्लाङकेट, ज्याकेट, स्विटर र सुत्केरी महिलाहरूको लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइएको हो । ८० वटा ब्लाङकेट, ८० वटा गलबन्दी, ३ बोरा न्यानो कपडा उपलब्ध गराएको संयोजक रत्नले जानकारी दिनुभयो । रुकुम पश्चिमका युवा समाजसेवी द्वय टङ्कप्रसाद देवकोटा र बिष्णु रेउलेको समन्वयमा कलाकर्मीहरूको समूहले हसहयाेग गरेकाे हाे ।
गाउँपालिकालाई हस्तान्तरण गरिएको मध्ये केही राहत सामग्री आफै प्रभावित क्षेत्र वडा नम्बर १ मा पुगेर पीडित परिवारलाई वितरण गरिएको समन्वयकर्ता देवकोटाले जानकारी दिनुभयो । सामग्री वितरण कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर पुन, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका रुकुम शाखा प्रमुख ब्युझना पुन देवकोटा लगायत कलाकर्मीहरूको उपस्थिति रहेको थियो । राहत सामग्री उपलब्ध बनाउने तथा पहल गर्ने सबैलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।