Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूमा अझै हटेको छैन त्रास 
आठबीसकाेट नगरपालिका वडा नम्बर ११ काे नेपाल राष्ट्रिय मावि गत्तसैनामा अध्ययनरत विद्यार्थी ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १४ जामिरकोट टाकुराकी कक्षा आठमा अध्ययनरत सिन्धु मल्ल सधैँझैँ विद्यालय आउनुहुन्छ । उहाँले अध्ययन गर्ने विद्यालयको नाम हो जनविकास माध्यमिक विद्यालय जामिरकोट टाकुरा । विद्यालय नजिकै भएकाले उहाँलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन । मङ्सिर चार गते विद्यालय सञ्चालन भएदेखि नै उहाँ नियमित विद्यालय आएको बताउनुहुन्छ । तर उहाँमा घर होस वा विद्यालय जहाँ पनि भूकम्पको डर भने अझै हटिसकेको छैन । गत कात्तिक १७ गते राती गएको भूकम्पको झलझली याद आउने गरेको उहाँ सुनाउनुहुन्छ । 

पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डर त्रास हुने गरेको विद्यार्थीहरू बताउँछन् । कक्षा पाँचमा अध्ययनरत विपिन मल्लको पनि समस्या सिन्धुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्न लेख्न मन नलाग्ने र विद्यालयै अध्ययनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिदा झन् चिन्ता लाग्ने गरेको मल्ल बताउनुहुन्छ । अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन सुरु भए पनि घाम लागेको दिन जाडो नभए पनि घाम नलाग्दा भने निकै समस्या हुने गरेको कक्षा आठमा अध्ययनरत पुस्तक चन्दको गुनासो छ । सिकाई केन्द्रमा बसाई व्यवस्थापन तथा अध्ययन गर्न पनि असहज हुने गरेको विद्यार्थीहरू बताउँछन् । 

जनविकास मावि हाल ७ वटा अस्थायी सिकाई केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ । अस्थायी सिकाई केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीहरूको बसाई व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसंगम थापाले बताउनुभयो । उहाँका अनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पले विद्यालयका दुई वटा भवनका ८ वटा कोठा पूर्ण रूपमा ध्वस्त बनाएको छ । बाँकी ३ वटा भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् । 

हाल विद्यालयमा बाल शिक्षा देखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही विद्यालयमा अध्ययनरत ३ जनाले ज्यान गुमाउनू पर्‍यो । विद्यालयले मानवीय क्षति सँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउनुहुन्छ । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्ययनरत १४ बर्सिया प्रेमा मल्ल, सोही कक्षामा अध्ययनरत १४ वर्षकै बिराज मल्ल र कक्षा पाँचमा अध्ययनरत ११ बर्सिया चन्द्रकला खड्काको मृत्यु भयो । साथीको मृत्यु तथा अझै पनि भूकम्पको डर त्रासले विद्यार्थी एकोहरो हुने, पढ्न मन नगर्ने, विद्यालयमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउने जस्ता समस्या विद्यार्थीमा देखिन थालेको प्रअ थापाको भनाई छ । 

विद्यार्थीले विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ ।विद्यार्थीहरू पुरानै लयमा फर्किन अझै समय लाग्ने उहाँको भनाई छ । पाठ्यक्रमको विषयवस्तु भन्दा पनि विद्यार्थीहरूको मनोबल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका कारण विशेषज्ञबाट मनोसामाजिक परामर्श आवश्यक रहेका प्रअ थापाले बताउनुभयो । 

विद्यालयमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ । विद्यालयलाई केही सङ्घ संस्थाहरूले सहयोग गरे पनि विद्यार्थीहरूका शैक्षिक सामग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उहाँको भनाई छ । 

भूकम्पले विद्यालय भवनहरूमा क्षति पुर्‍याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाई केन्द्रबाट पठनपाठनको प्रयास भइरहेको छ । भूकम्प पछि विद्यालयहरूमा अस्तव्यस्त अवस्था भएकाले विद्यार्थीहरूलाई पुरानै लयमा ल्याउनको लागि अस्थायी सिकाई केन्द्र तथा खुला चउरमा राखेर सामान्य खालको पठनपाठन सँगै मनोसामाजिक परामर्श दिने काम गरिएको आठबीसकोट नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । भूकम्पले विद्यालयमा क्षति पुर्‍याएपछि तत्कालको लागि छुटाछुटै कक्षा सञ्चालन गर्न नसकिएको र बहु कक्षा मार्फत विद्यार्थीहरूलाई सिकाई सहजीकरण गरिरहेको उहाँको भनाई छ । 

विद्यार्थीहरूलाई पूर्ण रूपमा पुरानै लयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने उहाँले बताउनुभयो । ‘मङ्सिर चार गतेदेखि विद्यालय खुले पनि पठनपाठन प्रभावकारी हुन सकेको छैन, प्रभावकारी बनाउन तर्फ लागि परेका छौँ, पुरानै लयमा विद्यार्थीहरू फर्की सकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थीहरू पुरानै लयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । र जाडो तथा अन्य मेला पर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्स पुरा गर्ने योजना बनाएका छौँ ’ नगर प्रमुख केसीले भन्नुभयो । 

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाई केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षा कोठामा क्षति पुगेको छ । त्यस्तै ३८ वटा शौचालयमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिनुभयो । सामाजिक विकास कार्यालयका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ । भने एक जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका थिए । भूकम्पका कारण ११ हजार ९ सय ५२ विद्यार्थी प्रभावित भएका छन् । 

गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको छ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौँ विद्यार्थी अस्थायी सिकाई केन्द्र तथा खुला चउरमा बसेर पढ्न बाध्य छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update