सरकार समक्ष धेरै गुनासो आएको र यससम्बन्धी उजुरी समेत धेरै रहेपछि टिकटक बन्द गर्ने निष्कर्षमा सरकार पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले बताउनुभएकाे छ । ‘अहिले बहुमत पक्ष सरकारको पक्षमा देखिएको छ, सरकारले हचुवाको भरमा टिकटक बन्द गरेको होइन, बढ्दै गएका टिकटक प्रतिका गुनासा, साइबर ब्युरोको आँकडा र स्वनियमन मुस्किल देखिएकोले तत्काललाई टिकटक बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो’ भूकम्प प्रभावित क्षेत्रकाे अवस्था बुझ्न रुकुम पश्चिम पुग्नुभएकी मन्त्री शर्माले भन्नुभयो ।
साइबर ब्युरोमा धेरै उजुरी टिकटक सम्बन्धिका रहेको उहाँको भनाई छ । सामाजिक सदभाव विथोल्न टिकटकले भूमिका खेलेको उहाँले बताउनुभयो । ‘नेपाली समाजको मौलिकता छुट्टै छ, यसलाई विथोल्न टिकटकले भूमिका खेलेको देखियो, स्वनियमन पनि सम्भव देखिएन,’ उहाँले भन्नुभयो । स्वनियमनको पाटो बलियो हुँदै गयो भने टिकटक सञ्चालनमा आउन सक्ने समेत उहाँको भनाई थियो ।
यसका साथै मन्त्री शर्माले भूकम्प प्रभावित क्षेत्रका मिडिया र पत्रकारका लागि निःशुल्क इन्टरनेट, विद्युत् तथा क्षतिग्रस्त सञ्चार माध्यमलाई उपकरण सहयोग गर्ने सम्बन्धमा मन्त्रालयले पहल गरिरहेको पनि बताउनुभयो ।