Kakhara सबैको खबर सम्पूर्ण खबर
सोती मुद्धा हेर्दा हेर्दैैमा, भोली पनि सुनुवाई हुने 
फाइल फाेटाे । अभियुक्तहरूलाई अदालतमा पेश गरिदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा जाजरकोटका नवराज बिक र अन्य ५ जना युवाको हत्या भएको घटना सम्बन्धिको मुद्धा हेर्दा हेर्दैमा राखिएको छ । आजबाट जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाई सुरु भएको हो । आज बहस नसकिएपछि मुद्धालाई हेर्दा हेर्दैमा राखिएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

भोली पनि यो मुद्धाको सुनुवाई हुने उहाँको भनाई छ । बहस नसकिदासम्म निरन्तर सुनुवाई हुने र बहस कहिलेसम्म चल्छ भनेर भन्न सकिने अवस्था नरहेको सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आज वादीका तर्फबाट दुई जना सरकारी वकिल र जाहेरवालाका तर्फबाट सात जना गरी नाै जनाको बहस भएको छ । 

बेलुका ६ बजे सम्मै बहस भएकाे थियाे । वादी तर्फ चार जना र जाहेरवाला तर्फ १२ जना गरी १६ जना तथा प्रतिवादीका तर्फबाट ६ जना अधिवक्ताहरु रहेको उहाँले बताउनुभयो । सबै गरेर २२ जना अधिकावक्ता भएकोले बहस सकिन नै समय लाग्ने देखिएको जिल्ला अदालत प्रशासनको भनाई छ । बहस सकिएपछि फैसला आउने बताइएको छ । 

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर २०७७ साल जेठ १० गते जाजरकोटका नवराज सहित उनका साथीहरु जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जिव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको सोतीमा हत्या भएको थियो । 

यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update