रुकुम पश्चिम र पूर्वको विद्युत केही दिन अनियमित हुने भएको छ । सल्यानको शितलपाटीबाट भएर रुकुम पश्चिम आउने विद्युत लाइन मर्मतको काम सुरु भएकाले झण्डै एक हप्ता विद्युत अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरणको रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ३, धैरेनीचौरमा बनेको विद्युत सब स्टेशनमा विद्युत जडानका लागि विद्युत लाइन मर्मत कार्य सुरु भएको हो । लाइन मर्मतको काम २४ सै घण्टा भइरहेको छ ।
रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले केही दिन विद्युत अनियमित हुने बताउनुभयो । जाजरकोटको कुदु सब स्टेशनबाट विद्युत नियमित गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । कुदु सब स्टेशनको विद्युत अनियमित भएपछि मात्रै जिल्लाका उपभोक्ताले समस्या व्यहोर्नुपर्ने प्रमुख भट्टराईले बताउनुभयो ।
समस्या नआएपछि भने यो विद्युत नियमित हुने उहाँको भनाई छ । यस अघि ११ केभी क्षमताको विद्युत सप्लाई भइरहेकामा अब ३३ केभी क्षेमताको विद्युत सप्लाइ लागि विद्युत लाइन मर्मतको काम थालिएको हो । रुकुम पश्चिमको सब स्टेशन चार्ज गर्ने र त्यो परीक्षण पनि हुने जनाइएको छ । सब स्टेशन चार्ज भएपछि जिल्लाको विद्युत आपूर्तिमा सहजता आउने जनाइएको छ । रुकुम पश्चिममा मात्रै विद्युत प्राधिकरणका १२ हजार उपभोक्ता छन् ।