Kakhara सबैको खबर सम्पूर्ण खबर

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राजतन्त्र इतिहास बनिसकेको बताउनुभएको छ । आज प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजतन्त्र इतिहास बनिसकेको र अब यो फर्किन नसक्ने बताउनुभयो । 

‘राजतन्त्रात्मक व्यवस्था, धार्मिक राज्य अब इतिहास भइसके, केही तत्त्व यसलाई फर्काउछौं भनेर लागिरहेका छन्, यो असम्भव कुरा हो, अब देशमा राजतन्त्र र धार्मिक राज्य व्यवस्था फर्किने कुनै सम्भावना छैन’ उहाँले भन्नुभयो । राजा फर्काउँछौ भनेर लागेकाहरूलाई पनि राजा फर्किन सम्भव छैन भन्ने थाहा भएको उहाँले दाबी गर्नुभयो । 

तर देशमा अस्थिरता कायम गर्न, गणतन्त्र तथा प्रजातन्त्रमा धावा बोल्न र देशलाई अशान्ति तथा अस्थिरताको क्रीडा स्थल बनाउनका लागि राजतन्त्र र धार्मिक राज्य व्यवस्थाको कुरा उठाइएको उहाँले टिप्पणी गर्नुभयो । देशलाई अराजकता तिर लैजाने प्रयास भए पनि अहिलेको सरकारले त्यसलाई सफल हुन नदिएको र देश शान्तिपूर्ण रूपमा अघि बढिरहेको उहाँको भनाई छ । 

पार्टी एकता अहिलेकाे आवश्यकता 
महासचिव गुरुङले कम्युनिस्ट पार्टी बिचको एकता अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो । ‘देशमा कम्युनिस्टको जनमत बढी छ, तर कम्युनिस्ट शक्ति विकेन्द्रित हुँदा समस्या भएको छ, कम्युनिस्ट एकता अहिलेको आवश्यकता हो, त्यसका लागि चार दलका बिचमा समाजवादी मोर्चा बनाएर अघि बढ्ने सहमति भएको हो ।’ 

समाजवादी मोर्चा पछि गएर पार्टी एकतामा परिणत हुने उहाँको दाबी छ । मोर्चामा रहेका दलहरू मध्ये केहीले अहिले नै एकता गरेर जाने तथा केहीले अझै तयारी आवश्यक छ भनिरहेको उहाँको भनाई छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि एकताको पक्षमै रहेको उहाँले बताउनुभयो । 

नेतृत्व र कार्यदिशामा एकमत
नेतृत्व र कार्यदिशाका विषयमा एमाले बाहेकका कम्युनिस्ट पार्टीहरू स्पष्ट रहेको गुरुङले दाबी गर्नुभयो । प्रचण्डलाई नै नेतृत्वका रूपमा स्वीकार गर्ने तथा पार्टी एकताको विकल्प छैन, समाजवादी क्रान्तिको विकल्प छैन र शान्तिपूर्ण रूपले संविधानलाई आधार बनाएर निर्वाचनकै माध्यमबाट अघि बढ्नुपर्छ भन्ने विषयमा सबै कम्युनिस्ट घटकका बिचमा एकरूपता रहेको उहाँको भनाई छ । 

गठबन्धन निरन्तर
साथै उहाँले गठबन्धनमा समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । पाँच वर्ष मध्ये बाँकी रहेको समयमा पनि गठबन्धनले निरन्तरता पाउने र सरकारको नेतृत्वका विषयमा आपसी समझदारीमा हुने उहाँले बताउनुभयो । सरकारको नेतृत्व जसले गरे पनि गठबन्धनबाटै हुने महासचिव गुरुङले बताउनुभयो ।

भूकम्प पीडितलाई राहत 
महासचिव गुरुङ भूकम्प प्रभावितलाई राहत लिएर रुकुम पश्चिम पुग्नु भएकाे हाे । चिनियाँ कम्युनिष्ट पार्टीले उपलब्ध गराएकाे राहत सामग्री लिएर आफू आएकाे उहाँले बताउनुभयाे । जाजरकाेट र रुकुम पश्चिमका लागि पाँच सय थान राहत सामग्री ल्याएकाे पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनुभयाे । उक्त सामग्री रुकुम पश्चिमका दुई र जाजरकाेट दुई गरी चार वडामा वितरण गरिने उहाँकाे भनाई छ । 

ज्याकेट, प्रेसर कुकर, मञ्जन, ब्रस लगायत गरी एक परिवारलाई करिब २५ हजार बराबरकाे राहत सामग्री रहेकाे उहाँले बताउनुभयाे । आजै उक्त सामग्री प्रभावित क्षेत्रमा गएर भूकम्प प्रभावितलाई वितरण सुरु गरिने उहाँले बताउनुभयाे । चिनियाँ कम्यनिष्ट पार्टीले नेपालका चार पार्टी मार्फत वितरण गर्ने गरी जाजरकाेट भूकम्प प्रभावितका लागि राहत पठाएकाे उहाँकाे भनाई छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update